काठमाडौं। विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको विषयले संसदमा प्रवेश पाएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद रामबहादुर विष्टले विप्लव समूहका सर्लाही इन्चार्ज पौडेल इन्काउण्टरमा मारिएका हुन् कि हत्या गरिएको हो? भन्ने प्रश्न गरे।
इन्काउण्टरमा मरिएको भन्ने अनि छानविन पनि गर्न सकिने भन्ने गृहमन्त्रीको अभिव्यक्ति प्रति उनले प्रश्न गरे। घटनाको मानवअधिकारवादीहरुले पनि विरोध गरिरहेको भन्दै उनले मुलुकभरीका यस्ता घटना बारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरे।
सांसद रामेश्वर राय यादवले कुमार पौडेल हत्या प्रकरणमा गृहमन्त्री र प्रहरी प्रमुखको अभिव्यक्ति फरक आएको तथा घटनाको प्रकृतिबाट हत्या नै प्रमाणित हुने भन्दै घटनाको बारे सत्य तथ्य जानकारी गराउन माग गरे। निर्वाध रुपले बाँच्न पाउने अधिकार र हरेक अपराधको कानुनी उपचार हुदा हुदै राज्यले हत्या नै गर्नुपर्ने कारण बारे स्पष्ट पार्न गृहमन्त्रालयको ध्यानाकर्षण गराए।
सांसद रेखा कुमारीले संघीयतालाई धरापमा पार्ने गतिविधि भईरहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन्। संघीय ऐन कानुन पूर्ण रुपमा बनिनसकेको बेला गौर नगरपालिकाकाले आफुखुसी कानुन बनाई प्रतिशोध साँध्ने काम भएको भन्दै यस्ता गतिविधि तत्काल रोक्नका लागि सरकारको ध्यानाकर्षण गराइन्।
सांसद रेनुका गुरुङले शून्य समयमा बोलेका कुरालाई सरकारले नसुनेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। उनले समानुपातिक सांसदलाई स्थानीय पुर्वाधार विकासबाट बञ्चित गरि मानमर्दन गर्ने काम गरेको भन्दै अर्थमन्त्री युवराज खतिवडाको राजीनामा माग गरिन्।
सांसद रामकुमार यादवले नागरिकता ऐन संसोधन गर्न बनेको विधेयक र प्रदेश लोकसेवा ऐन विधेयक संसदमा छलफलको विषय बनाउन माग गरे।
डिसी नेपाल





