Home > Blog > बागलुङमा यस वर्ष ४० विद्यालय बन्दै

बागलुङमा यस वर्ष ४० विद्यालय बन्दै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गत २०७२ सालको भूकम्पपछि बागलुङका धेरै बिद्यालय भत्केका थिए । ती बिद्यालय पुन निर्माणको क्रम शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अगुगाईमा तीन बर्षदेखि निर्माण थालिएका भवन मध्ये चालु बर्ष बागलुङका मात्र ४० बिद्यालय बन्न लागेका हुन् । प्राधिकरणले नगद र प्राविधिक रुपमा गरेको सहयोग पछि भवन निर्माणले गति लिएको हो । भवन अभावमा कतिपय बिद्यालयले खुला चउरमा बालबालिका राखेर पढाउन बाध्य थिए । ‘चार बर्षसम्म खुला चउरमा राखेर पढाउन बाध्य थियौं’ महाविद्याजन माविका शिक्षक प्रेमप्रसाद शर्माले भने, ‘अब यो समस्या हट्ने भयो ।’ यो बिद्यालयले चालु बर्षभित्रै सक्ने गरी पक्की भवन निर्माण गरिरहेको छ ।

बागलुङ नगरपालिका ११ को यो बिद्यालय जस्तै जिल्लाका ४० बिद्यालय ठडिने क्रम शुरु भएको हो । इकाईमार्फत गत बर्षको ६३ लाख बजेटबाट ४ कोठे भवन र चालु बर्षको ७३ लाख बजेटबाट ४ कोठे भवन निर्माणाधिन छ । यो बिद्यालयमा अझै अपुग भएपछि शिक्षा बिभागको १६ लाख रुपैयाँबाट २ कोठे भवन समेत निर्माण गरिएको छ । ती कोठा निर्माण भएपछि आधुनिक भवनमा राखेर पढाउन सकिनेछ । प्राधिकरणको इकाईमार्फत यहाँका ४० वटा बिद्यालय चालु बर्ष निर्माण भैरहेका छन् । निर्माणाधिन अधिकांस भवन निर्माणको अन्तिम चरणमा पुगेको ईकाई प्रमुख रेणुकुमारी पाण्डेले बताईन् । ती मध्ये खोलातीर प्रावि बिहुँले अन्तिम मूल्यांकन गरिसकेको छ । अन्यले असार मसान्तमा काम सकेर अन्तिम किस्ता भुक्तानी लैजाने पाण्डेले बताईन् ।

‘एकादुइले काम नभ्याउने अबस्था छ, अधिकांसले काम सक्दैछन्’ पाण्डेले भनिन्, ‘अघिल्लो बर्षका काम सकेर आगामी बर्षका लागि थप ३८ बिद्यालय बनाउने योजना छ ।’ भूकम्पले क्षति पुगेका १ सय १२ बिद्यालयमध्ये प्राथमिकताको आधारमा भवन बनाउने काम भैरहेको हो । असार मसान्तमा काम नभ्याएकालाई भ्याएको कामको मात्र भुक्तानी दिनेछ । बाँकी कामका लागि छुट्टै निर्णय गरेर मात्र भुक्तानी दिने व्यवस्था हुनेछ । बिद्यालय निर्माण गर्न भौगोलिक अध्ययन गरेर प्रतिवेदन बुझाएपछि मात्र निर्माण अनुमति पाउने व्यवथा छ । पुन निर्माण प्राधिकरणको अनुदानमा बिद्यालय बनाउनका लागि सम्झौता पछि पनि भवन निर्माण स्थालको अध्ययन र लेआउट निकाल्नुपर्ने प्रावधान छ । प्राधिकरणले चार कोठे भवन पक्की बनाउनु पर्ने प्रावधान राखेको छ । बागलुङमै ३ कोठे भवन ५ वटा बनाउने लक्ष छ । त्यसका लागि प्राधिकरणबाट ३५ लाख ८० हजार र २ कोठे भवन १८ वटाका लागि २३ लाख ९० हजार रुपैयाँ आनुदान दिने गरी काम थालिएको हो । यो व्यवस्थाका लागि भने ट्रष्ट भवन बनाउने डिजाईन गरिएको हो ।

प्राधिकरणले सूचिकृत गरेको मध्ये बागलुङ कम क्षति भएको जिल्लामा छ । कम क्षति भएका जिल्लामा ढीलागरी प्रवेश गरेकोले निर्माणको काम पनि ढीलाई भएको थियो । भूकम्प बाट भत्केका व्यक्तिगत घरहरुको पुन निर्माणको काम सोचेजस्तो प्रगती हुन नसकेको गुनासो आउने गरेको छ । बागलुङस्थित पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाईले चालु खर्चको तुलनामा पूँजिगत खर्च गर्न सकेको छैन । जिल्लाका २ हजार ३ सय ७५ लाभग्राहीमध्ये अहिलेसम्म ५ सयले मात्र घर बनाएका छन् । उनीहरु तेस्रो किस्ताका लागि योग्य भएपनि अझै उनीहरले पैसा पाईसकेका छैनन् । अहिलेसम्म ९ सय परिवारले पहिलो किस्ता लगेका छन्भने दोश्रो किस्ता लैजान नपाउने धेरै छन् । तोकिएको शर्त पुरा नगरेसम्म पुननिर्माणको लागि सरकारले दिने ३ लाख रुपैयाँ अनुदान नपाउने प्रावधान छ ।
जनमञ्च

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1