काठमाडौं : सांसद दिलेन्द्रप्रसाद बडूले गुठी विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्। केही दिन पहिले उक्त विधेयक छलफलका लागि राष्ट्रियसभामा पेश भएको थियो। प्रतिनिधिसभाको सोमबारको बैठकको सुरुआतमा नेपाली काङ्ग्रेसका सांसदले विरोध जनाएलगत्तै सभामुख कृष्णबहादुर महराले सांसद बडूलाई बोल्न समय उपलब्ध गराउपपछि उनले उक्त विधेयक फिर्ता नलिए सडकबाट सशक्त आन्दोलन गर्ने चेतावनी दिए।
सांसद बडूले सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले एक कार्यक्रममा उक्त विधेयक फिर्ता नलिने अभिव्यक्ति दिएको भन्दै सोही विषयलाई लिएर काङ्ग्रेसले बैठकमा उठेर विरोध जनाएको थियो।
मन्त्री बाँस्कोटाले केही समयअघि एक सार्वजनिक समारोहमा गुठी सामन्ती अवशेषको रूपमा रहेको धारणा व्यक्त गगरेको भन्दै सांसद बडूले दुई तिहाइको दम्भको उन्मादले वर्तमान सरकार धर्म, परम्परा, संस्कार, सम्पदा, संस्कृति र मौलिकता मास्न लागिपरेको आरोप लगाए।
यस्तै,सांसद लक्षमणलाल कर्णले लोकसेवा आयोगको विज्ञापन फिर्ता हुनुपर्ने माग गरे। उनले मौलिक हकको धारा ४२ विपरीत आयोगले सो विज्ञापन आह्वान गरेको आरोप लगाए। आयोगले जेठ १५ गते नौ हजार १६१ जनाका लागि विज्ञापन आह्वान गरेकामा असार १ गतेसम्म एक लाख ६० हजारको निवेदन दर्ता भइसकेको छ।
रासस





