रत्ननगर । कालिका नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सीमान्तकृत चेपाङ समुदायका २० जना युवायुवतीलाई काममा लगाएको छ । चालू आर्थिक वर्षमा ११ वटा वडाका २२० जना बेरोजगार युवाहरुलाई रोजगारी दिने घोषणा गर्दै पहिलो चरणमा २० जनालाई काममा लगाएको हो ।
सो नगरपालिकाको चेपाङको बाहुल्यता रहेको वडा नं ११ को रम्तेस–बझवाङ सडकको किनारमा नाला बनाउने कामका लागि २० जनालाई रोजगारी दिइएको हो । वडा नं ११ का ५८ जना चेपाङले रोजगारका लागि आवेदन दिएका थिए ।
रम्तेसमा आयोजित औपचारिक कार्यक्रमको आयोजना गरी मेयर खुमनारायण श्रेष्ठले कामदारलाई सुरक्षा सामग्री हस्तान्तरण गरी पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाको उद्घाटन गरेका थिए । २० जनालाई २० दिनको काम दिने गरी काममा लगाइएको मेयर श्रेष्ठले बताए । चालू आर्थिक वर्षमा २२० जनालाई २० दिनका दरले काममा लगाउने र त्यसका लागि प्रधानमन्त्री रोजगार कोषमार्फत प्राप्त १९ लाख रूपैयाँ खर्च हुने मेयर श्रेष्ठले जानकारी दिए ।
सम्बन्धितसमाचार
विपद्को पूर्वतयारी कमजोर : प्रशासनसँग ४ लाख ५० हजार, रेडक्रससँग १३५ घरलाई पुग्ने राहत
‘तनावमुक्त बन्न आफूभित्रको खुसी चिनौँ’
इन्द्रसरोवरमा डुबेर एक युवक बेपत्ता
एउटा कामदारले एकदिन काम गरेको पारिश्रमिक ६२५ रूपैयाँ प्रदान गरिने छ । कालिका नगरपालिकामा ३ हजार १९६ जनाले रोजगारीका लागि आवेदन दिएका छन् । ११ वटा वडामा स्थानीय आवश्यकताका आधारमा युवाहरुलाई काममा खटाइने छ । आर्थिक अभावका कारण कष्टकर जीवनयापन गरिरहेका चेपाङहरुलाई काममा लगाएर नगरमा रोजगार कार्यक्रम सुरू गरेको मेयर श्रेष्ठले बताए ।
‘बिहान–बेलुका हातमुख जोर्न पनि चेपाङलाई काम चाहिएको छ’, उनले भने, ‘त्यसका लागि सुरूमै उनीहरुलाई काममा लगाएका हौँ ।’ रोजगार कार्यक्रमको सुरूवातसँगै मेयर श्रेष्ठले अब विकास निर्माणको काममा मेसिन प्रयोग नगर्ने घोषणा गरेका छन् । उनले नगरभित्र हुने हरेक विकास निर्माणको काममा मेसिनको सट्टा श्रमशक्ति प्रयोग गर्ने बताए । मेसिनको प्रयोग नगरी नगरभित्रका युवाहरुलाई रोजगारी दिने मेयर श्रेष्ठको भनाइ छ ।
श्रममा विश्वास गरेर काम गर्न चाहने युवाहरुलाई नगरपालिकाले रोजगारी दिने उनले बताए । ‘अहिले श्रमप्रतिको विश्वास घट्दै गएको छ’, उनले भने, ‘श्रम गर्छु भनेर आउने युवालाई नगरपालिकाले निराश बनाउँदैन ।’ उनले प्रधानमन्त्री रोजगार कार्यक्रममा मात्र नभई नगरपालिकाले गर्ने अन्य विकास निर्माणको काममा पनि मानव संसाधन प्रयोग गरिने बताए ।
उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरी, उपमेयर कमला भट्टराई, वडाध्यक्षहरु टीकाराज रिजाल, कृष्णकुमार श्रेष्ठ, कृष्णबहादुर प्रजालगायतले मन्तव्य राखेका थिए ।
सरकारले बेरोजगारी अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम सुरू गरेको थियो । मुलुकमा हुने विभिन्न विकास निर्माणमा युवाहरुलाई लगाउने योजनासहित सरकारले सो कार्यक्रम सुरू गरेको हो । सरकारले विकास निर्माणको काममा मेसिनको प्रयोग न्यूनीकरण गर्दै युवाशक्ति प्रयोग गर्ने नीति लिएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सडक स्तरोन्नति, साना–साना पूर्वाधार निर्माण, श्रममूलक काम, सडक निर्माण, कृषि, सिंचाइ, ग्रामीण खानेपानी, शिक्षा, वन, जलाधार क्षेत्रमा रहेर काम गर्ने कार्यविधि रहेको छ । यस कार्यक्रममा १८ वर्षदेखि ५० वर्षसम्मका बेरोजगार नागरिक सहभागी हुन पाउनेछन् ।
चितवन पोष्ट





