Breaking News
Home > Blog > दाग अनुहारमा छ, हामी ऐना पुछिरहेका छौं : गगन थापा

दाग अनुहारमा छ, हामी ऐना पुछिरहेका छौं : गगन थापा

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले नेपालको शिक्षा प्रणालीमा सुधार आउन नसकेको बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले शिक्षामा भएको समस्याको जिम्मेवारी हिजोको एमाले, माओवादी सबैले लिनुपर्ने बताए।

२०६४ सालमा एक कक्षामा १३ लाख ३४ हजार विद्यार्थी भर्ना भएकोमा २०७६ सालमा आइपुग्दा कक्षा १२ को परीक्षा दिने जम्मा २ लाख ९० हजार भएको भन्दै उनले प्रश्न गरे- १० लाख ४४ हजार विद्यार्थी कहाँ हराए?

विद्यालमा भएका विद्यार्थीले कुनै पनि विषयमा ५० प्रतिशतभन्दा बढी सिक्न नसकेको उनले दाबी गरे।

उनले भने, ‘अझै अंग्रेजी, गणित, विज्ञान हेर्यौं भने त्योभन्दा तल छ।’

देशमा ३६ हजारभन्दा बढी प्रारम्भिक बालविकास केन्द्रहरू भए पनि त्यहाँ पढाउने शिक्षक योग्य नभएको उनले औंल्याए।

उनले भने, ‘योग्य शिक्षकले पढाउनुपर्ने ठाउँमा ८ कक्षा पास गरेकाले पढाइ रहेको छ।’

संविधानले यसो गर्न पाइँदैन भन्दा पनि आफूहरूले लेखेको कुरा जे छ त्यसको उल्टो गरिरहको बताए।

यो राष्ट्रिय लज्जाको विषय हो भन्दै यसमा सबैले जिम्मा लिनुपर्ने उनले जोड दिए।

सरकारले अहिले गरिरहेको कामबाट भएको अवस्था नबदलिने उनले दाबी गरे। उनले भने, ‘हामी सार्वजनिक मञ्चमा सबभन्दा सजिलो बनेको सफ्ट तार्गेट निजी विद्यालयलाई दुई चार वटा गाली गर्छौं। दाग अनुहारमा छ, ऐना पुछिरहेका छौं।’

आफैंले सञ्चालन गरेको विद्यालयप्रति विश्वास नगरेको उनले बताए।

उनले भने, ‘यस्तो विद्यालयमा न हामी सांसद, शिक्षक कोही पनि आफ्नो बच्चाबच्ची पढाउन तयार छैनौं।’

यो परिस्थितिबारे अध्ययन गर्नुपर्ने उनले बताए।

सांसद थापाले भने, ‘भर्खर शिक्षा मन्त्रीले ठूलो अध्ययन गर्नुभयो तर अध्ययन गरेको प्रतिवेदन प्रधानमन्त्रीबाट शिक्षा मन्त्रालयले फिर्ता माग्ने आँट गर्न सकेको छैन।’

२९ हजार विद्यालयमध्ये २० हजार विद्यालयको पूर्वाधार विजोग भएको उनको जिकिर छ।

‘भक्तपुरमा १७ जनालाई एउटा शिक्षक हुँदा सिराहामा ८३ जनालाई एउटा शिक्षक छ,’ उनले भने, ‘गुणस्तर भनेको केबल अंग्रेजी भाषा हो भन्ने हाम्रो बुझाइ छ।’

यस वर्षको शिक्षाको बजेट पर्याप्त नभएको बताउँदै सांसद थापाले भने, ‘म शिक्षा मन्त्रीलाई चुनौतीका साथ भन्न चाहन्छु। अर्को वर्ष भेटौं। यो बजेटले एक चौथाइ विद्यार्थीलाई मात्र पुर्याउनुभयो भने पनि हामी उहाँले भनेको जे पनि मान्न तयार छौं।’

सेतोपाटी

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1