बागलुङ — राप्रपा अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा देशमा लुटतन्त्र मच्चिएको बताएका छन् । उनले लोकतन्त्रको ठेकेदार हौँ भन्नेले नै लुटतन्त्र मच्चाएको आरोप लगाए ।
हिन्दु राष्ट्र स्थापनाका लागि सञ्चालित राष्ट्रिय स्वाभिमान यात्राअन्तर्गत शनिबार यहाँ आयोजित सभामा थापाले बन्दुक बोक्न लगाउने र सडकमा आन्दोलन गराउनेहरू भ्रष्टाचारको आहालमा पुगेको टिप्पणी गरे । ‘गरिबको पक्षमा भन्दै जनताका छोराछोरीलाई बन्दुक बोकाउन लगाउने अर्बपति भएका छन्,’ उनले भने, ‘लोकतन्त्र र गणतन्त्रको वकालत गर्नेले पनि देशलाई लुटेरै खाएका छन् ।’ वाइडबडी जहाज खरिद प्रकरण, एनसेलको करछली, सुन तस्करी, बालुवाटारको जग्गा जस्ता घटनामा सत्ता र प्रतिपक्षले राष्ट्रिय सहमति गरेर लुटेको उनले बताए ।
समृद्धिको यात्रा नाम दिएकै सरकारको पालामा सबैभन्दा बढी गरिबी र बेरोजगारी बढेको तथ्यांक थापाले प्रस्तुत गरे ।
कान्तिपुर





