पोखरा । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज पोखरामा पूर्वबक्सिङ खेलाडी एवं प्रशिक्षक चित्रबहादुर गुरुङलाई लाइफ टाइम एक्चिभमेन्ट अर्वाड–२०७५बाट सम्मान गरेका छन्।
गुरुङले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलमा बक्सिङ खेलको माध्यमबाट मुलुकको गौरव बढाएका छन्। स्याङजाको मनोकामनामा २०१८ सालमा जन्मिनु भएका उनले १९८७ मा कोलकोत्तामा आयोजित दक्षिण एशियाली खेलकूदमा रजत, चौंथो दक्षिण एशियाली खेलकूदमा स्वर्ण र ११औँं बेइजिङमा सम्पन्न एशियाली खेलकुदमा कास्य पदक प्राप्त गरेका थिए।
नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीद्वारा आज आयोजित ‘चौँंथो अपाचे टिभिएस स्पोर्टस अर्वाड–२०७५’ सो समारोहमा आठ विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिएको छ। वर्ष २०७५ को पुरुषतर्फको उत्कृष्ट खेलाडीको पुरस्कारबाट प्याराग्लाइडिङका खेलाडी युकेश गुरुङलाई सम्मान गरिएको छ। उनलाई बतास ब्रदर्श प्रालिको तर्फबाट मोटरसाइकल प्रदान गरिएको छ।
विदेश गएकाले उनको माता पिताले सो पुरस्कार ग्रहण गरे। पोखरा–६का १८ वर्षीय युकेश आठौं राष्ट्रिय खेलकूदमा टिमतर्फ क्रसकन्ट्रीमा स्वर्ण, इण्डोनेशियामा सम्पन्न एशियन खेलमा क्रसकन्ट्रीमा स्वर्ण पदक विजेता हुन्।
त्यस्तै, वर्ष २०७५को उत्कृष्ट महिला खेलाडीमा कराँते खेलाडी सुष्मी श्रेष्ठलाई सम्मान गरिएको छ। उनलाई बतास ब्रदर्श प्रालिको तर्फबाट स्कुटी प्रदान गरिएको छ। स्याङजा भीरकोटमा जन्मिएकी २१ वर्षीया श्रेष्ठ आठौं राष्ट्रिय खेलकूदको खुल्ला तौल समूहमा कास्य, एकलतर्फ स्वर्ण पदक, सकेण्ड साउथ एशियन रिजनल, कन्ट्रिज क्यूकोसिन कराँतेमा खुल्ला तौल समूहमा स्वर्ण र २९औँं युरोपियन प्रतियोगिताको खुल्ला तौल समूहमा कास्य प्राप्त गरेकी हुन्।
वर्ष २०७५को उत्कृष्ट खेलकूद पत्रकारिता पुरस्कारबाट विनोद लामिछाने पुरस्कृत भएका थिए। उनलाई गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले सम्मान गरेका थिए। सो पुरस्कारको राशि २० हजार रहेको छ। यसवर्ष उत्कृष्ट खेल सङ्घ अवार्ड जिल्ला बास्केटबल सङ्घ कास्कीलाई प्रदान गरिएको छ। सो पुरस्कारको राशि रु १५ हजार रहेको छ।
वर्ष २०७५को नवोदित उदयमान खेलाडीको अवार्ड क्रिकेटका खेलाडी अर्जुन कुमाल, वर्ष २०७५को उत्कृष्ट कराते प्रशिक्षक अवार्डबाट दीपक गोदार, र वर्षको चर्चित खेलाडीमा सुटिङको खेलाडी श्रेया केसी पुरस्कृत भएकी हुन्। उनीहरु एमएसएसको मतको आधारमा उत्कृष्ट खेलाडीमा छनोट भएका हुन्। यी सबै पुरस्कारको राशि २५ हजार रहेको छ।
सो अवसरमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी वर्ष प्रदेशमा एकेडमी स्थापना गर्ने घोषणा गरे। उनले खेलकूदको माध्यमबाट प्रदेश र देशको प्रतिष्ठा बढाउनुपर्ने उल्लेख गर्दै उनले खेलकूदको विकासमा सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता प्रकट गरे।
सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक स्व. सहवीर थापाका सुपुत्र एक लाख पाँच हजार, राष्ट्रिय खेलकूद परिषद्का सदस्य इमानसिंह गुरुङले ५० हजार, होटल सिटी इन लेकसाइडले पोपुलर अवार्डका लागि २५ हजार प्रदान गरेका थिए।
डिसी नेपाल





