काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फेरि चाहियो भन्नेहरुलाई ‘मुर्ख’ को संज्ञा दिएका छन्। प्रधानमन्त्री ओलीले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति संकेत गर्दै २ सय ४० वर्ष शासन गरेर मुलुकलाई अन्धकारको युगमा धकेल्ने, गरिव बनाउने राजतन्त्र फेरि चाहियो भनेर केहीले मुर्खतापूर्ण अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै आपत्ति जनाए।
उनले देश र जनतालाई माया गरेर इमान्दारिताका साथ राष्ट्र निर्माणको अभियानमा सहभागी हुन सबैलाई आह्वान गरे। शुक्रबार भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले देशलाई प्रतिगमनतर्फ लैजाने चेष्टा नगर्न चेतावनी दिए।
उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई तथाकथित क्रान्तिको नाममा हिंसा भड्काउने प्रयास नगर्न चेतावनी दिए। प्रधानमन्त्री ओलीले सरकारले शान्ति, सुरक्षा, सुशासन र विकासको काममा लागि परेको दावीसमेत गरे।
प्रधानमन्त्री ओलीले बेरोजगारी समस्या समाधानको बाटोमा सरकार लागि परेको बताए। ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ बेरोजगारी समस्या समाधानका लागि नै सुरुवात गरिएको कार्यक्रम भएको प्रधानमन्त्री ओलीको स्पष्टिकरण छ। प्रधानमन्त्री ओलीले ४० लाख युवाहरु वैदेशिक रोजगारमा रहेकाले उनीहरुलाई देश भित्रै रोजगारीको अवसर सृजना गर्न सरकार प्रतिवद्ध रहेको बताए।
प्रधानमन्त्री ओलीले सबै नागरिकलाई सुरक्षा गर्नेगरी सरकारले आवश्यक सामाजिक सुरक्षाको प्रबन्ध गरिरहेको बताए। कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बेरोजगार युवाहरुलाई देशमै रोजगारीको अवसर सृजना गर्न सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लागू गरेको बताएका थिए।
डिसी नेपाल





