काठमाडौँ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बहुमत ल्याएर सरकार निर्माण गरे पनि उदाहरणीय एवं समाजवादी काम गर्न नसकेको आरोप लगाएका छन्।
नेमकिपाले आज यहाँ आयोजना गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति बारेको पत्रकार भेटघाट कार्यक्रममा उनले संविधानमा उल्लेख भएको प्रावधानअनुसार सरकारले समाजवादी काम गर्न नसकेको बताए।
उनले वार्तामार्फत सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई वार्ताका माध्यमबाट राजनीतिको मूलधारमा ल्याउनुपर्ने बताए। उनले सिके राउतसँग वार्ता गर्ने सरकारले विगतकै माओवादीको बाँकी भाग विप्लवलाई प्रतिबन्ध लगाई लखेट्नु नहुने सुझाव दिए।
उनले सरकारले प्रस्तुत गरेको बजेट समाजवादको विकासभन्दा पूँजीवादलाई बलियो बनाउने प्रकृतिको रहेको आरोप लगाउँदै अमेरिकाले कानूनी र गैरकानूनीरूपमा अन्य देशहरूमाथि हस्तक्षेप गरिरहेको भनाइ राखे।
कार्यक्रममा नेपाल मजदूर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले चालू आव २०७५/७६ र आव २०७६/७७ को बजेट वक्तव्यका प्रतिबद्धताका कतिपय वाक्य नै उही भएकाले सरकारले ल्याएको बजेट प्रतिबद्धताको पुलिन्दा मात्र भएको आरोप लगाए।
रासस





