बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले आगामी असार २५ गतेदेखि मित्रराष्ट्र चीनको भ्रमण गर्ने भएका छन्।
उनले चिनिँया कम्युनिष्ट पार्टी केन्द्रीय समितिअन्तर्गत अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीनको भ्रमणमा जान लागेका हुन्।
मुख्यमन्त्री पोखरेलको भ्रमणका लागि प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले स्वीकृत प्रदान गर्दै सङ्घीय सरकारसमक्ष सिफारिश गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए।
प्रदेश सरकारको मुख्यमन्त्रीको हैसियतमा मुख्यमन्त्री पोखरेलको यो पहिलो विदेश भ्रमण हो। मुख्यमन्त्री पोखरेल चीन भ्रमणका क्रममा गरीबी निवारण र विकास विषयक कार्यक्रममा सहभागी हुने भएका छन् भने चीन र नेपालका शहरहरुबीच भगिनी सम्बन्ध स्थापित गर्ने उद्देश्य रहेकोसमेत प्रवक्ता चौधरीले जानकारी दिए।
बैठकले प्रदेश सरकारका तर्फबाट प्रदेशमा विभिन्न क्षेत्रका प्रबुद्ध, ख्यातिप्राप्त र योगदान पुर्याएका व्यक्तिलाई सम्मान गर्न प्रदेश विभूषण पदकको व्यवस्था गर्न विभूषण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रदेशसभामा पठाउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। विधेयकमा विभिन्न ११ प्रकारका विभूषणको व्यवस्था गरिएको छ।
विधेयकमा सबैभन्दा उच्च तहको पदक गौतमबुद्धको नाममा बुद्ध शान्ति पदक नामकरण गरिएको छ। यस्तै प्रदेश प्रमुख जनसेवा, मुख्यमन्त्री प्रज्जवल दीप, प्रदेश सेवा समर्पण, उजिरसिंह दीप, समाजसेवा श्री, प्रदेश रत्न, पुथा श्री, प्रदेश प्रज्ञा, प्रजापती गौतमी र दङ्गिशरण बलिहाङ पदक स्थापना गर्ने प्रस्ताव गरिएको छ।
पदक विभूषण संविधान दिवस असोज ३ गतेका दिनमा पदक घोषणा गरेर प्रदेश स्थापना भएको फागुन ३ गतेका दिनमा वितरण गर्ने प्रस्ताव गरिएको छ।
बैठकले सार्वजनिक लिखत प्रमाणीकरण नियमावली २०७६ लाई स्वीकृत गर्नाका साथै सार्वजनिक खर्चको मापदण्ड कार्यविधि र मितव्ययितासम्बन्धी निर्देशिका संशोधन, प्रा लि फर्म व्यवस्था गर्न बनेको विधेयक र साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रदेशसभामा पठाउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले जानकारी दिए।
बैठकले प्रदेशका जिल्लामध्येको प्यूठानका दुई गाउँपालिकाका केन्द्र परिर्वतन गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गर्दै सङ्घीय सरकारसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ।
प्यूठान जिल्लाको ऐरावती गाउँपालिकाको साबिकको बरौला केन्द्रबाट पुरनठाटी ददेरीपाटा र माण्डवी गाउँपालिकाको देवीस्थान केन्द्रबाट जसपुर सार्ने प्रस्तावलाई स्वीकृत गर्दै सङ्घमा सिफारिश गरिएको हो।
यस्तै कपिलवस्तुको शिवराज नगरपालिका–३ को सीमा परिवर्तन गरेर साबिक शिवपुर गाविसलाई वडा नं १ मा गाभ्ने सिफारिशलाई स्वीकृत गरेको प्रवक्ता चौधरीले जानकारी दिए।
डिसी नेपाल





