काठमाडौं । काठमाडौंमा आगलागीमा परेर १ जनाको मृत्यु भएको छ। यसैगरी काठमाडौं, बाँके र नवलपरासी (पूर्व) मा भएका आगलागीबाट करिब ४० लाख ४० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
कीर्तिपुर नगरपालिका–४ ज्वालादेवी मार्ग बस्ने ७४ वर्षीय देव बहादुर बांनियाको आगलागीमा परेर आइतबार बिहान मृत्यु भएको छ। खाना बनाउने क्रममा आगलागी भएकोले आगो निभाउने क्रममा जलेर बाँनियाको घटनास्थलमै मृत्यु भएको हो।
आगलागीबाट बाँनियाको कच्ची घर र अन्नपात, लुगाफाटा लगायतका सामानहरू जलेर नष्ट भई करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल समेत नष्ट भएको छ। बाँके, नरैनापुर गाउँपालिका १ कटकुईयाँ गाउँमा आइतबार बिहान आगलागी हुँदा ९ वटा कच्ची घर र ७ वटा गोठ जलेर करिब ३५ लाख रुपैयाँ बराबबरको धनमाल नष्ट भएको छ।
नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका–३ भतेरीस्थित महेश्वर खोलामा अघोरी मल्टिप्रपोज विजनेश प्रालिको गिटी बालुवा संकलन केन्द्रमा पार्किङ गरी राखेको बा २ क ७८८६ नम्बरको स्काईभेटरमा शनिबार राती आगलागी भएको छ।
स्काईभेटरको हाईड्रोलिक पाईप जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल





