गोर्खा अनलाइन रेडियो यूके,
काठमाडौं- महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ मा पहिलोपल्ट कलेजो प्रत्यारोपण गरीएको छ। कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारी नेतृत्वको टोलीले शुक्रबार कलेजो प्रत्यारोपण गरेको हो। डा भण्डारीका अनुसार ५८ वर्षीय बुबालाई ३३ वर्षीय छोरीले कलेजो प्रदान गरेकी हुन्। अस्पतालले १६ घन्टा लामो समय लगाएर उक्त प्रत्यारोपण सम्पन्न गरेको हो। डा भण्डारीका अनुसार शुक्रबार बिहान ८ बजेबाट सुरु भएको शल्यक्रिया शनिबार बिहान साढे १२ बजे मात्र सकिएको थियो।
शल्यक्रियामा डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीसहित झण्डै ५० जनाको टोली सहभागी भएको थियो। सर्जरीमा डा भण्डारीको नेतृत्वमा १२ जना सामेल थिए। एनेस्थेसियामा डा अमित भट्टराई र डा पंकज जोशी, कलेजो प्रत्यारोपणको क्रिटिक केयरमा डा सुवाश आचार्य र डा प्रमेश सुन्दर श्रेष्ठ, डा राहुल पाठक (लिभर ट्रान्सप्लान्ट हेपाटोलोजी), रेडियोलोजीमा डा दिनेश चटौत, डा अजित थापाले भूमिका निभाएका थिए।यसैगरी, प्याथोलोजीतर्फ डा अनिलदेव पन्त, पेडियाट्रिक लिभर ट्रान्स्प्लान्ट हेपाटोलोजीमा डा सुर्यबहादुर थापा खटिएका थिए।
अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको हो। यसअघि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण भएको थियो। तर, केन्द्रले प्रत्यारोपणलाई निरन्तरता दिन सकेको छैन। शिक्षण अस्पतालका सर्जन डा भण्डारीले दक्ष र चुस्त टिम भएकाले अस्पतालमा कलेजो प्रत्यारोपण कार्य नियमित हुने बताए। शुक्रबार भएको प्रत्यारोपणमा सहयोग गर्न भारतको एपोलो अस्पतालबाट टोली आएको डा भण्डारीले जानकारी दिए। अस्पतालले ५ वर्षको प्रयास पछि प्रत्यारोपण सेवा सुरु गरेको हो।
फोटो साभार अनलाइन





