काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत रमाकान्त अर्याल, यातायात व्यवस्था कार्याले, सवारी चालक अनुमतिपत्र वीरगञ्जका नायब सुब्बा बद्री प्रसाद दाहाललगायत ४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।
अध्यागमन अधिकृत अर्यालले अकुत सम्पत्ति कमाएको भन्दै अख्तियारले अनुसन्धान गर्दा दुई करोड छ लाख उनानव्बे हजार एक सय एघार रुपैया बराबरको सम्पत्ति अवैध रुपमा आर्जन गरेको अख्तियारले दावी गरेको र अख्तियारले सोही रकम बराबरको विगो कायम गरी हदैसम्मको कारबाही माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।
यस्तै यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, वीरगञ्ज, पर्साका नासु दाहालल लेखापढीको काम गर्ने रोशनकुमार रौनियार र सुनिल कुमार यादवविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारको विज्ञप्तिः
मिति २०७६।०२।१६ गते ।
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, वीरगञ्ज, पर्साका नायव सुब्बा बद्री प्रसाद दाहाल समेत ३ जना आरोप–पत्र दायर गरिएको ।
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, वीरगञ्ज, पर्सामा लेखापढीको काम गर्ने रोशनकुमार रौनियार र सुनिल कुमार यादवले स्काभेटरको लाइसेन्स बनाइदिने भनी सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवम् उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडा मकवानपुरबाट खटिइ गएको टोलीले निजहरू रोशन कुमार रौनियार र सुनिल कुमार यादवलाई सेवाग्राहीसँग रू. ३१,०००।– (एकतीस हजार) घुस बापतको रकम लिइसकेको
अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान हुँदा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, वीरगञ्ज, पर्साका नायव सुब्बा बद्रीप्रसाद दाहाल, शिखर इन्स्योरेन्स क.लि., तेस्रोपक्ष बिमा कलेक्सन काउण्टर, वीरगंज पर्साका लेखापढी व्यवसायी रोशनकुमार रौनियार र सोही काउण्टरमा काम गर्ने सुनिल कुमार यादव समेतको प्रत्यक्ष संलग्नतामा सेवाग्राहीलाई स्काभेटरको सवारीचालक अनुमति–पत्र बनाईदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरी लिएको तथ्य स–प्रमाण पुष्टि हुन आएको हुँदा निजहरू बद्रिप्रसाद दाहाल, रोशनकुमार रौनियार र सुनिल कुमार यादव उपर देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको सजायको मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको छ ।
मिति २०७६।०२।१६ गते ।
अध्यागमन कार्यालय¸ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौका अध्यागमन अधिकृत रमाकान्त अर्याल उपर आरोप–पत्र दायर गरिएको ।
अध्यागमन कार्यालय¸ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौका अध्यागमन अधिकृत रमाकान्त अर्यालले गैरकानूनी सम्पत्ति आर्जन गरी उच्च जीवन यापन गरेको भन्ने आयोगमा दर्ता हुन आएको उजुरी उपरको अनुसन्धानमा निजको सार्वजनिक सेवामा प्रवेश मिति २०५९।५।२३ देखि मिति २०७५ मंसिर मसान्तसम्मको जाँचअवधिको आयव्यय तथा सिर्जित सम्पत्तिहरु उपर बिश्लेषण गरी हेर्दा निजले तलव¸ भत्ता¸ कर्जा¸ कृषि आय¸ स्त्रिधन¸ अंश नगद र जग्गा विक्री लगायतबाट जम्मा रु. २¸४९¸९२¸७३०। (दुई करोड उनान्चास लाख बयानव्बे हजार सात सय तीस) आय आर्जन गरेको देखिन्छ । सोही अवधिमा निजले आफू र श्रीमती सरिता नेपाल समेतका
नाममा खरिद गरी राखेका एवं लगानी गरेको चल अचल सम्पत्तिहरु जग्गा खरिद¸ घर निर्माण¸ सवारी साधन खरिद¸ लगानी तथा खर्च एवं विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा मौज्दात लगायतमा रु। ४¸५६¸८१¸८४१। (चार करोड छपन्न लाख एकासी हजार आठ सय एकचालीस) खर्च तथा लगानी गरेको देखिँदा निजको वैध आय रु. २¸४९¸९२¸७३०। को तुलनामा रु. २,०६,८९,१११। (दुई करोड छ लाख उनानव्बे हजार एक सय एघार रुपैया) बराबरको भागको स्रोत नखुलेको पाइएबाट निजको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएकोले वैध आयको तुलनामा स्रोत खुल्न नसकेको रु.२,०६,८९,१११। (दुई करोड छ लाख उनानव्बे हजार एक सय एघार रुपैयाँ)
निजले राष्ट्र सेवक भएपश्चात के कस्तो श्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने कुराको स्रोत पुष्टि गर्न नसकेबाट गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज रमाकान्त अर्याल उपर विगो रु. २,०६,८९,१११। (दुई करोड छ लाख उनानव्बे हजार एक सय एघार रुपैयाँ) कायम गरी प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगो बमोजिम जरिवाना र
कैद सजाय हुन र निजले श्रोत पुष्टि गर्न नसकेको एवं गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिको विगो रु. २,०६,८९,१११। (दुई करोड छ लाख उनानव्बे हजार एक सय एघार रुपैया) भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ख बमोजिम जफत गरी पाउन निज रमाकान्त अर्याल र निजकी श्रीमती सरिता नेपाल समेतलाई प्रतिवादी कायम गरी मिति २०७६।०२।१६ गते विशेष अदालत¸ काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।
प्रदीपकुमार कोइराला
प्रवक्ता
डिसी नेपाल





