Breaking News
Home > Blog > चक्लाबन्दी कार्यक्रमलाई प्रदेशभर विस्तार गरिने

चक्लाबन्दी कार्यक्रमलाई प्रदेशभर विस्तार गरिने

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

कास्की । गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले स–साना टुक्रामा विभाजित जमीनलाई एकीकरण गरी खेती गर्ने कार्यक्रमलाई विस्तार गरिने बताएका छन्।

जिल्लाको माछापुच्छे गाउँपालिका–३ घाचोकस्थित सिरानखेतमा भूमे बराह कृषक समूहले चक्लाबन्दी गरी खेती गर्न शुरु गरेको जमीनको आज निरीक्षण गर्दै उनले प्रदेश सरकारको नौलो कार्यक्रमको रुपमा रहेको चक्लाबन्दी कार्यक्रमलाई आगामी वर्ष प्रदेशभरि विस्तार गर्ने योजना रहेको सुनाए।

उनले चालू वर्षमा पहिलोपटक सो कार्यक्रम शुरु गरिएकाले पनि घाचोकका कृषकले अझ बढी मेहेनत गरेर नमूनाका रुपमा विकास गरी बाहिरी जिल्लाबाट पनि अवलोकन गर्न आउन प्रेरित गर्ने गरी काम गर्न आग्रह गरे।

कृषकले उत्पादन गरेका वस्तुले बजार नपाउने गरेको गुनासो आउने गरेको बताउँदै मन्त्री थापाले त्यसलाई सम्बोधन गर्न र उत्पादनलाई बजारसँग जोड्नका लागि आवश्यक पर्ने स्थानमा सङ्कलन केन्द्र स्थापनाका लागि मन्त्रालयले सघाउने प्रतिबद्धता व्यक्त गरे।

समूहका अध्यक्ष मोतीलाल पोखरेलले चक्लाबन्दी गर्नको लागि १५ लाख खर्च भएको र सो जमीनमा वर्षमा तीन खेती लगाउने गरी तयारी गरिएको बताए।

प्रदेश कृषि मन्त्रालयले चक्लाबन्दी कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेपछि यहाँका २२ कृषकले कृषक समूह गठन गरी आवेदन गरेको र ५१ रोपनीमा चक्लाबन्दी गरी सामूहिक खेती गर्न शुरु गरिएको मन्त्रालयका भूमि स्रोत तथा नक्साङ्कन महाशाखा प्रमुख गङ्गालाल पोखरेलले जानकारी दिए।

स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने पोखरा स्पोर्टस् अवार्ड–२०७५ को मनोनयन सार्वजनिक गरिएको छ। मञ्चले यही जेठ २४ गते पोखरामा आयोजना गर्ने प्रदेशस्तरीय ‘चौथो टिभीएस अपाचे पोखरा स्पोर्टस् अवार्ड’ को विभिन्न चार विधामा तीन/तीन जनाको नाम आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

जसअनुसार सर्वोत्कृष्ट खेलाडी पुरुषमा प्याराग्लाइडिङका युकेश गुरुङ, रुपक नेपाली फूल कन्ट्याक्ट कराँते र स्क्वासका अमृत थापा मनोनयनमा परेका छन्। सर्वोत्कृष्ट खेलाडी महिलामा फूल कन्ट्याक्ट कराँतेका सुमी श्रेष्ठ, प्रीति बराल सफ्टटेनिस र सुटिङका श्रेया केसी छन्। वर्ष उत्कृष्ट उदीयमान खेलाडीमा क्रिकेटका अर्जुन कुमाल, आइटीएफ तेक्वान्दोका सुस्मिता थापामगर र आर्चरीका अनुस्का शेरचन छन्।

वर्ष उत्कृष्ट प्रशिक्षक विधामा फूल कन्ट्याक्ट कराँतेका दीपक गोदार, ह्याण्डबलका भीमसेन शाक्य र हक्कीका राजेन्द्र पाठक मनोनयनमा परेका छन्। त्यस्तै मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्डबाट बक्सिङका पूर्व अन्तर्राष्ट्रिय खेलाडी चित्रबहादुर गुरुङलाई सम्मान गरेको हो।

गुरुङले चीनमा भएको ११औँ एशियाली खेलकूद प्रतियोगितामा काश्य, तेश्रो दक्षिण एशियाली खेलकूद प्रतियोगितामा रजत र पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली खेलकूदमा स्वर्ण पदक प्राप्त गरेका थिए। अवार्ड प्राप्त गर्ने गुरुङलाई चाँदीजडित अवार्ड, सम्मानपत्र र दोसल्लाले सम्मान गरिने मञ्चले जनाएको छ।
डिसी नेपाल

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1