Breaking News
Home > Blog > प्रदेश नम्बर ३ को नाम ‘गौरीशङ्कर’ राख्न सुझाव

प्रदेश नम्बर ३ को नाम ‘गौरीशङ्कर’ राख्न सुझाव

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाडौं । प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’ राख्दा उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् ।

प्रदेश नं ३ ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रस्तावित नाममध्ये गौरीशङ्कर नाम उपर्युक्त हुने सुझाव दिएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं प्रदेश सांसद पशुपति चौलागाईं, पूर्वमन्त्री गणेश शाह, प्रदेश सांसदद्वय विशाल खड्का र दीपेन्द्र श्रेष्ठ, डा प्रदीप मैनालीसहितले प्रदेशभरको अपनत्व र प्रतिनिधित्व हुने साझा नाम गौरीशङ्कर हुने सुझाव दिए ।

सो नामकरणको निर्णय गर्न सांसद खड्काले गत साता प्रदेशसभामा प्रस्ताव दर्ता गराइसकेका छन् । त्यसलाई कार्यान्वयन गर्न सबै प्रदेशमा समन्वय गर्नका लागि वरिष्ठ कलाकार मदनदास श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको जानकारी कार्यक्रममा दिइयो ।

“पवित्र हिमालको नाम भएको र नेपालको समय निर्धारणसमेत गौरीशङ्कर भएकाले यो नाम उपयुक्त हुन्छ भनेर हामीले अभियान थालेका हौँ”, कार्यक्रममा वरिष्ठ कलाकार एवं संयोजक श्रेष्ठले भने ।

नेता चौलागाईंले नाम र राजधानीको विषयमा प्रदेशसभाको यही अधिवेशनमा मतदान हुने औँल्याउँदै गौरीशङ्कर हुनसक्ने सम्भावना रहेको बताए । काठमाडौँका प्रदेश सदस्य दीपेन्द्र श्रेष्ठले हिमालैहिमाल भएको प्रदेशमा हिमालबाटै नामकरण हुनु उपयुक्त हुने सुझाव दिनुभयो । प्रस्तावक सांसद खड्काले गौरीशङ्कर नामकरण गर्नुपर्ने आधार र कारणहरु राखेका थिए ।

डा मैनालीले गौरीशङ्करको महीमा पशुपतिदेखि त्रिशूलीसम्म जोडिएको प्रसङ्ग झिक्दै हिमालय पर्वत शृङ्खलाबाटै नामकरण गर्दा उचित हुने भएको धारणा राखे । कार्यक्रममा शोभित उप्रेती, प्रवीण प्रधान, बालकृष्ण बस्नेत, दिलीप थापामगर, सन्तोष खड्का, टेकराज थामीसहितले यो प्रदेशको नामकरण हिमालबाटै गर्दा सर्वस्वीकार्य हुने भएकाले गौरीशङ्कर राख्न सुझाव दिए ।
डिसी नेपाल

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1