गोर्खा अनलाइन रेडियो यूके,
लण्डन । सांगीतिक क्षेत्रमा आफ्नो जीवनको ६७ वर्ष बिताइसकेका बरिष्ठ गायक प्रेमध्वज प्रधानलाई शुक्रबार साँझ नेपाली दूतावास लण्डनद्वारा आयोजित एक विशेष कार्यक्रममा “बसुन्धराश्री पुरस्कार २०७५” द्वारा सम्मानित गरिएको छ । बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीका मातापिताको नाममा स्थापित वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानको पुरस्कार राशि ५० हजार रुपैयाँ रहेको छ । प्रतिष्ठानका कुलपति राजदूत डा सुवेदी (दुवसु क्षेत्री) र कोषाध्यक्ष पुनम राज्यलक्ष्मी सुवेदीले गायक प्रधानलाई उक्त पुरस्कार वितरण गरे ।
नेपाली दूतावास लन्डनद्वारा आधुनिक नेपाली संगीतका मुर्द्दन्य श्रष्ठा बरिष्ठ गायक प्रेमध्वज प्रधानको विशेष सम्मानमा आयोजित उक्त कार्यक्रममा पहिलोपटक बेलायत आइपुगेका ८१ वर्षीय गायक प्रधानको जोश जाँगर र हौसलाले उपस्थित सबैमा उर्जा थपेको थियो । आफ्ना जीवनका सांगीतिक पलहरुको स्मरण गर्दै उनले अझै पनि स्वास्थ्य साधनाको लागि निरन्तर गीत गाउदै आएको बताएका थिए । गित संगीत पनि नेपालीहरुको आफ्नो मौलिक पहिचान भएकोले नेपालीहरु जहाँ भए पनि नेपाली भूमी र नेपाली संगीतलाई बिर्सन नहुने बताएका थिए । ‘घुम्तीमा नआउ है’, ‘गोरेटो त्यो गाउँको’, ‘हाँस्ने रहरहरु’ र ‘आज फेरि जुनकिरीले’ सहितका आफ्ना लोकप्रिय गीतहरु सुनाएर उपस्थित दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए । ‘यो नेपाली शिर उचाली संसारमा लम्किन्छ जुनकिरी झैँ ज्योती बाली अन्धकारमा चम्किन्छ’ गीतलाई उपस्थित सबैले संयुक्त रुपमा गएका थिए ।
कार्याक्रममा गायक प्रधानको सम्मानमा बेलायतका स्थानीय १० कलाकारहरुले प्रेमध्वज प्रधानका लोकप्रिय गीतहरु गएर सुनाएका थिए । जस अन्तर्गत गायिका शर्मिला बर्देवा, सितु रिमाल खरेल, सपनकुमार राई, दिपक थापा, गंगाराज, बिसी राई, प्रमोद शर्मा, आशिष राज, थीर थापा र चोक गुरुङले एकएकवटा गीत सुनाएका थिए । कार्यक्रमको सांगीतिक संयोजन सपन इन्टरटेनमेन्टका सपन कुमार राईले गरेका थिए ।
त्यस्तै, सयपत्री कल्चर समुह यूके समुहका डम्बर सिंह प्रयास, एलबि गुरुङ, सन्तोष विश्वकर्मा र गौरव क्षेत्रीको समुहले प्रधानकै गीतहरुमा मिठो सांगीतिक धुनको प्रस्तुति गरेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै राजदूत डा सुवेदीले नेपाली संगीत क्षेत्रका धरोहर गायक प्रेमध्वज प्रधानको बेलायत भ्रमणबाट बेलायतमा बस्ने नेपालीहरुमाझ नेपाली संगीतको दियो बाल्ने काम भएको बताएका थिए । आफ्नी आमाले पनि गायक प्रेमध्वज प्रधानको गीत गुगुनाएको स्मरण गर्दै अहिले आफ्नी श्रीमती पुनम सुवेदीले पनि प्रेमध्वज प्रधानको गीतमा रमाउने गरेको गरेको बताए ।
गायक प्रधानलाई बेलायतमा ल्याउने कार्यमा सहयोग गर्ने मगर संघ बेलायतको नवनिर्वाचित कार्यसमिति , संरक्षक तथा सल्लाहकारहरुलाई पनि दूतावासले खादासहित सम्मान गरेको थियो । तेस्तैगरि कार्यक्रममा प्रस्तुति दिने स्थानीय कलाकारहरुलाइ पनि सम्मान गरिएको थियो । गायक प्रधानलाई पनि खादा तथा ढाका टोपी लगाएर सम्मान गरेका थिए । दूतावासका उपनियोग प्रमुख शरदराज आरनद्वारा कार्यक्रमको संचालन गरिएको थियो । बाँकी फोटो हेर्न यहाँ क्लिक गर्नुहोला
कार्यक्रममा संयुक्त रुपमा गाइएको गीत “यो नेपाली शिर उचाली” हेर्नुहोस