काठमाडौँ । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्बले प्रदेश नं २ लाई पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवी मैदानमा आज सम्पन्न खेलमा आर्मीले प्रदेश नं २ लाई १७१ रनले पराजित गरेको हो। टस हारेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाउँदै २७८ रन बनायो।
२७९ रनको विजयी लक्ष्य पछ््याएको प्रदेश नं २ ले ३१ दशमलव ४ ओभरमा सबै विकेट गुमाई एक सय ७ रन मात्र बनायो। प्रदेश नं २ का लागि हरिशङ्कर साहले सर्वाधिक २१ रन बनाए। सम्साद शेखले १६, सुधीर चौधरीले १५, राशिद खानले १४ र सुरज पटेलले ११ रन बनाए।
बलिङ्तर्फ आर्मीका शाहब आलमले चार विकेट लिए। सुशन भारीले तीन, जीतेन्द्र मुखियाले दुई तथा कुशल मल्लले एक विकेट लिए।
यसअघि आर्मीको ब्याटिङ शुरुआत राम्रो रह्यो। प्रारम्भिक ब्याट्सम्यान राजु रिजाल र कप्तान विनोद भण्डारीले एक सय २१ रनको साझेदारी निभाए। रिजालले दुई छक्का र चार चौकाको मद्दतमा ९० रन जोडे। भण्डारीले नौ चौकासहित ६६ रनको योगदान दिए।
यस्तै रोहित पौडेलले ४७, हरिबहादुर चौहानले २६, सुशन भारीले १२ तथा करण केसीले ११ रन बनाए। बलिङतर्फ प्रदेश २ का हरिशङ्कर साहले तीन तथा राशिद खान, विवेक यादव र विशाल सुसलिङले एक÷एक विकेट लिए । प्लेयर अफ द म्याच आर्मीका राजु रिजाल भए।
प्रतियोगितामा तीन विभागीय टोली र ७ प्रदेशका टोलीको सहभागिता छ। समूह ‘ए’ मा एपिएफ क्लब, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश तथा समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन्। प्रतियोगिताको विजेताले रु २० लाख तथा उप–विजेताले रु १० लाख पुरस्कार प्राप्त गर्नेछ।
डिसी नेपाल





