काठमाडौं । करिब १ घण्टाको अवधिमा देशका विभिन्न २ स्थानमा आगलागी हुँदा करिब १४ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। मंगलबार स्याङजा र पाल्पामा भएका छुट्टाछुट्टै आगलागीमा उक्त क्षति भएको हो।
आगलागीका घटनामा भएका उक्त क्षतिमध्ये स्याङजा गल्याङ नगरपालिका ९ मनहरी बस्ने शालिकराम खनाललगायत ३ जनाको खरले छाएको कच्ची घरमा आगलागी हुँदा घर र घरभित्र रहेको विभिन्न सरसामान, अन्नपात लत्ताकपडा समेत जलेर करिब ९ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो।
यसैगरी पाल्पा रैनादेबी छहरा गाउँपालिका ६ जुठापौवा बस्ने बेदबहादुर जिसिको भैरव स्टोरमा आगलागी हुँदा स्टोरका सम्पूर्ण सामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको छ। साथै आगलागीका घटना हुन नदिन नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विशेष सचेतनामूलक कार्यक्रम संचालन गरी आगलागीबाट बच्ने उपायबारे जानकारी समेत गराउँदै आएको छ।
डिसी नेपाल





