गोर्खा अनलाइन रडियो यूके,
लन्डन । लन्डन बरो अफ बार्नेटको मंगलवार बसेको वार्षिक काउन्सिल बैठकले काउन्सिलर लक्ष्यबहादुर गुरुङलाई बार्नेट काउन्सिलको उपमेयर पदमा निर्विरोध निर्वाचित गरेको छ । उपमेयरमा निर्वाचित भए पछि सबैलाई धन्यवाद दिंदै गुरुङले भने, “मेरो मुख्य प्राथमिकता नेपाली समुदाय र बार्नेट काउन्सिलबीच सम्बन्ध बलियो बनाउनु हुनेछ । मैले उत्तरपश्चिम लन्डनमा बसोबास गर्ने नेपाली समुदायको लागि एउटा सामुदायिक केन्द्र उपलब्ध गराउने बारे प्रयास गर्नेछु । बेलायतको सबैभन्दा ठूलो तथा सत्तारुढ कन्जरभेटिभ पार्टीको तर्फबाट पहिलो भूतपूर्व गोर्खा उपमेयर हुन पाउँदा म गौरवान्वित र सम्मानित भएको ठानेको छु ।’ ब्रिटिश सेनाको ब्रिगेड अफ गोर्खाजबाट सेवानिवृत्त गुरुङ सन् २००५ देखि सपरिवार बेलायतमा बसोबास गर्दै आएका छन् ।
उनकी श्रीमती शोभा, दुइ छोरी र एक छोरा छन् । उनी गत वर्ष कन्जरभेटिभ पार्टीको उम्मेदवारको रुपमा बार्नेट काउन्सिलको हेल वार्डबाट काउन्सिलर पदमा निर्वाचित भएका थिए । बन्र्टओक नेपाली समाजका पूर्व अध्यक्ष गुरुङ नेपाली समुदायलाई उनले पुराएको सेवाको कदर स्वरुप बार्नेट सिभिक अवार्ड बाट सम्मानित पनि भएका थिए । तेस्तैगरी बैठकले काउन्सिलर क्यारोलिन स्टकलाई मेयरको पदमा निर्वाचित गरेको थियो । यसैगरी कन्जरभेटिभ पार्टीबाट निर्वाचित काउन्सिलर डेनियल टोमस बार्नेट काउन्सिलका नयाँ नेता चुनिएका छन् ।बार्नेट काउन्सिलले काउन्सिलरहरु मध्येबाट हरेक वर्ष नयां मेयर र उपमेयर चुन्ने गर्दछ । झन्डै चार लाख जनसंख्या भएको बार्नेट ब्रिटेनको सबैभन्दा बढी जनघनत्व भएको काउन्सिल पनि हो ।





