फिदिम । फिदिम नगरपालिका–१४ स्थित महादेव गुप्तेश्वर माविका शिक्षक लालबहादुर फागोको विद्यालयमा आफ्नो स्वागतका लागि राखिएको कार्यक्रममा मन्तव्य राख्ने क्रममा मृत्यु भएको छ।
विद्यालयका शिक्षक अशोक तिम्सिनाको बिदाइ तथा नवनियुक्त शिक्षक फागोको स्वागतका लागि आयोजित कार्यक्रममा मन्तव्य राख्ने क्रममा उनको मृत्यु भएको हो। मन्तव्य राखिसक्ने बेलामा शिक्षक फागो बेहोस भएर ढलेका थिए।
फिदिम–११ मूलडाँडा स्थायी घर भएका ३५ वर्षीय शिक्षक फागोको बेहोस भएको केहीबेरमै मृत्यु भएको बताइएको छ। शवपरीक्षणका लागि सरदरमुकाम लगिएको तमाखेस्थित प्रहरी चौकीले जनाएको छ।
शिक्षक फागोलाई केही दिनअघि मात्र करारमा नियुक्त गरिएको विद्यालयका प्रधानाध्यापक कमलप्रसाद बाँस्कोटाले बताए।
रासस





