सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले आफ्नो क्षेत्रका नदीमा नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको छ । मेलम्ची नगरपालिका, क्रसर ऊद्योग व्यवसायी र सुरक्षा निकायको आज बसेको संयुक्त बैठकले इन्द्रावती र मेलम्ची नदीमा सञ्चालित नौ क्रसर उद्योगले नदीजन्य पदार्थ उत्खननका लागि प्रयोग गर्दै आएको मेसिनरी औजारलाई आजैदेखि रोक लगाउने निर्णय गरिएको मेलम्ची नगरपालिकाका नगरप्रमुख डम्बरबहादुर अर्यालले जानकारी दिए।
यसअघि स्थानीयवासीले क्रसर उद्योग सञ्चालनका कारण वातावरण प्रदूषित भएको, दैनिक जीवनयापनमा गम्भीर असर परेकाले पटक पटक नगरपालिकाको ध्यानाकर्षण गराउँदै आएका थिए । भूकम्प पश्चात गिट्टी, बालुवा, चिप्सको उत्पादन तथा वितरणमा सहज होस् भन्ने उद्देश्यले नगरपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन र कार्यालयको निर्णयअनुसार नदीजन्य पदार्थको उत्खननका लागि विसं २०७५ माघ ७ गतेदेखि अनुमति प्रदान गरेको थियो ।
नगरपालिकाले क्रसर उद्योगबाट हाल सङ्कलन भएको नदीजन्य कच्चा पदार्थको मौज्दात परिमाणसमेत यकिन गरी नदी तथा खोलामा मेसिनरी औजार प्रयोग बन्द गरेको हो । मेलम्ची नगरपालिका क्षेत्रभित्र रहेका क्रसर उद्योगले प्रदेश नं ३ सरकारबाट जारी गरिएको नदीजन्य पदार्थको (सङ्कलन र उपयोग) कार्यविधि, २०७५ मा उल्लेख भएका कानूनी प्रावधान र स्थानीय अनुगमन समितिले दिएको निर्देशनलाई पूर्ण रुपमा पालना गर्नेसमेत निर्णय गरिएको छ ।
सहमति विपरीत मेसिनरी औजार प्रयोग गरी अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरेको पाइएमा कारवाही गरिने नगरपालिकाका प्रमुख अर्यालले बताए।
डिसी नेपाल





