भरतपुर। इलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेका एक युवक गम्भीर घाइते भएपछि स्थिति तनावग्रस्त बनेको छ।
कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय समिर घिसिङ बिहीबार साँझ हिरासतभित्रको शौचालयमा आफैँले लगाएको सर्ट ९कमिज० मा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उक्त घटनापछि गम्भीर घाइते भएका घिसिङलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ। घाइतेको पुरानो मेडिकल कलेजमा भेन्टिलेटरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घिसिङको मृत्यु भएको भन्दै उनका आफन्त र स्थानीयवासीले कार्यालयमा तोडफोड गर्नुका साथै केहीबेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए। सो क्रममा प्रहरीले पाँच/सात राउण्ड हवाई फायर गर्नुका साथै अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।
प्रहरीले बल प्रयोग गरी राजमार्ग सञ्चालनमा ल्याएको छ । तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले १५ भन्दा बढीलाई नियन्त्रणमा लिएको छ। घिसिङ वैशाख २५ गते चोरी अभियोगमा पक्राउ परेका थिए।
रासस





