Home > Blog > तिलस्मीभित्रको यथार्थता

तिलस्मीभित्रको यथार्थता

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

पछिल्लो समय प्राय : सबै किसिमका लेखकहरु उपन्यासतिर ढल्केको पाइन्छ । कविता ,कथा ,निबन्ध ,गीत जुनसुकै विधाका लेखकले पनि उपन्यासलाई माया गरेजस्तो देखिन्छ । त्यसो त उपन्यास धेरै पढिने विधा पनि भनिन्छ । कतिपयको नजरमा उपन्यास साहित्य जगत्को नाम र दाम दुवै कमाउन सकिने विधा हो भनेको पनि सुनिन्छ ।
गीतकारका रुपमा आफ्नो परिचय बनाउन सफल डि.आरले अब आख्यानकारको लिस्टमा पनि आफ्नो नाम थपेका छन् । उनले आफ्नो पहिलो उपन्यास ‘तिलस्मी’ भर्खर बजारमा ल्याएका छन् समाजमा भएका सामाजिक विकृतिलाई औँल्याउँदै बालमनोविज्ञानको माध्यमबाट समाजमा रहेका धनी – गरीबबीचको खाडल ,महिला पुरुषबीचको खाडल अनि शिक्षित र अशिक्षितहरु बीचको खाडलको संरचना केलाएका छन् ।
बिग्रिएको समाजलाई सुधार्ने अनि समाजलाई बिग्रन नदिने ,शिक्षा ,सरसफाइ ,खेलकुदजस्ता कुराहरुमा युवावर्गको चासो हुनुपर्छ भन्ने कुरा उपन्यासले देखाउन खोजेको छ ।
उपन्यासले मानव जीवनलाई विभिन्न पाटोबाट परिभाषित गर्न खोजेको छ । कहिले सन्तुष्टि ,कहिले अभाव ,पीडा ,दुःख –दर्द ,आँसु – हाँसो जीवनका पाटाहरु हुन् । उमेरसँगै यी र यस्ता अवस्थाहरु पनि पार गर्दै जानुपर्छ भन्ने कुरा उपन्यासकारले उपन्यासमा देखाउन खोजेका छन् ।
बाल मनोविज्ञानजस्तो महत्वपूर्ण पक्षलाई उपन्यासमा प्रस्तुुत गरिएको छ । वर्गीय र राजनैतिक पर्खाललाई तोड्न एउटै बालक काफी छ भन्ने कुरा यस पक्षबाट बुझ्न सकिन्छ ।
उपन्यास पढ्दा झ्याप्प ‘विराज’ पात्रको बढी नै चारित्रिक समर्थन लेखकले गरेजस्तो देखिन्छ । यद्यपि धनराज र विराजको भेट गराएर लेखकले एउटा पर्खाल तोड्ने बाटो खोलिदिएका छन् ।
धनाढ्य परिवारमा जन्मेर सबै पुगीसरी हुँदा पनि विराज नमातेको , नपुल्किएको र एउटा आदर्श बालक तथा साथी बनेर साथीभाइसँग रमाउनु ,समाज विकासमा नेतृत्व लिनुजस्ता कुराहरु अति आदर्श जस्ता देखिन्छन् । यद्यपि विराजका हरेक क्रियाकलापले समाजका बालबालिका तथा युवाहरुमा सकारात्मक सोचको विकास गराउँछ ।
विराज र धनराज ,टेकेलगायतका साथीहरुसँग सङ्गत गर्नु ,सडक बालकलाई सहयोग गर्ने मनसाय देखाउनुबाट यो ज्ञात हुन्छ कि , सबै धनाढ्य परिवारका बालबालिका मातेका र पुल्किएका हुँदैनन् ।
विराजले आफूभन्दा ठूलाप्रति देखाएको सम्मान र आदर भावले जुनसुकै भीडमा पनि संस्कार हराउँदैन भन्ने राम्रो उदाहरण दिएको छ ।

नेपालको पूर्वी भागको भाषा ,लवज अनि धनराज पात्रको नामले कतै डि.आर. आफै उपन्यासको पात्र बनेका त हौइनन् भन्ने कल्पना गर्न सकिन्छ । बोलीमा पूर्वेली लवज ,काठमाण्डौदेखि सिक्किमसम्मको परिवेशले लेखकले आफ्नै ठाउँलाई उपन्यासमा उतारेको जस्तो भान हुन्छ ।
दुई पक्षबीच लडाइँ हुनु , पहिले गुण्डा पक्षकाले कज्जाले कुट्नु र पछि विराज एक्लैले तिनीहरुलाई तह लगाउनुले कुनै चलचित्रमा विराजलाई नायकको भूमिकामा राखेकोजस्तो देखिन्छ ।
आफ्नो समाजलाई उठाएर पनि लेखकले भाषाशैलीमा मौलिकता अपनाउन नसकेको जस्तो देखिन्छ ।
‘तिलस्मी’ शीर्षक दिइए पनि यो यथार्थ घटनामा आधारित उपन्यास भएकोले शीर्षक र विषयवस्तुमा तादाम्यता नमिलेजस्तो पनि देखिन्छ ।
पुस्तक : तिलस्मी (उपन्यास)
लेखक : डि.आर.

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1