गोर्खा अनलाइन रेडियो यूके
लण्डन । बेलायतमा रहेका सेफहरुको संस्था नेप्लिज सेफ एशोसिएसन यूकेको आयोजनामा यहि मे १३ तारिखका दिन मिडल्याण्डको ओल्डवरीस्थित द स्यामसन ब्यांकेटिङमा एक भव्य च्यारिटी कार्यक्रमको आयोजना गरिंदै छ ।
धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोटमा रहेको रातमाटे माध्यामिक विद्यालयमा पुस्तकालय स्थापना गर्न आगामी सोमवार उक्त च्यारिटी कार्यक्रम गर्न लागिएको हो । संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक कृष्ण तिमल्सिनाका अनुसार कार्यक्रममा कार्यक्रमको तयारी तीव्र रुपमा अगाडी बढेको र सो कार्यक्रममा वेलायतका बिभिन्न शहरबाट नेपालीहरुले सहभागीता जनाउने भएका छन् ।
नेपालमा आएको विनासकारी भूकम्पले ध्वस्त बनाएको सो विद्यालय यसअघि पुनर्निर्माण सम्पन्न भइसकेपनि बजेट अभावमा पुस्तकालय निर्माणको उद्देश्यले सो कार्यक्रम गर्न लागिएको संयोजक तिमल्सिनाले जनाए । भवन समेत बनिसकेर पनि रकम अभावले पुस्तकालय त्यसै अलपत्र रहेको पाइएपछि एशोसिएसनका संस्थापक अध्यक्ष तथा समाजसेवी कृष्ण तिमल्सिनाको पहलमा च्यारिटी कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
एशोसिएसनमा तिमल्सिना नेतृत्व रहँदा नै सो स्कुलको पुस्तकालयलाई सहयोग गर्ने निर्णय भएको थियो । संस्थापक अध्यक्ष तिमल्सिनाका अनुसार पुस्तकालयलाई करीब १० लाखको हाराहारीमा सहयोग गर्ने लक्ष्य लिइएको छ ।बर्मिङहमको ओल्डवरीस्थित द स्यामसन ब्यांकेटिङ सुटमा हुने कार्यक्रममा चर्चित कलाकारहरु प्रिति आले, कुलेन्द्र बिक, अर्जुन काफ्ले, दीपाशा जलपरीलगायतको विशेष प्रस्तुती रहनेछ ।
अहिले टिकट विक्रीका साथै विभिन्न सहयोगदाता र प्रयोजकहरुबाट समेत कोष संकलनको काम भइरहेको आयोजकले जनाएको छ । कार्यक्रममा १० पाउण्डको टिकट तय गरिएको छ भने ५ देखि १० वर्ष मुनीका बालबालिकाको हकमा ७ पाउण्डको तय गरिएको छ । सेफ एशोसिएसन बेलायतमा क्रियाशिल सबै नेपाली सेफहरुलाई संगठित गर्ने प्रमुख लक्ष्य बोकेको संस्था हो । रातमाटे माध्यामिक विद्यालयको पठन पाठन थप स्तरीय बनाउनुका साथै विद्यार्थीको पठन संस्कृतिलाई विकास गर्ने उद्देश्यका साथ पुस्तकालय स्थापनाको पहल थालिएको हो ।





