अमेठी, उत्तर प्रदेश । भारतीय काँग्रेसका अध्यक्ष तथा अमेठी निर्वाचन क्षेत्रका उम्मेदवार राहुल गान्धीले आफ्ना मतदातालाई शुक्रबार खुल्ला पत्र लेखेका छन्। अमेठीका वर्तमान् सांसद समेत रहेका गान्धीले अमेठीलाई आफ्नो परिवार र कर्मभूमिको संज्ञा दिएका छन्।
जनपक्षीय सरकार बनाउनका लागि पनि आफुलाई फेरी मतदान गरेर बाटो खोलिदिन समेत उनले आह्वान गरे। “अमेठी मेरो परिवार जस्तै हो, मेरो अमेठी परिवारले मलाई जहिले पनि सत्यको पक्षमा उभिन साहस दिने गरेको छ, पिडा र आवाजहरूलाई सुन्न प्रेरित गरेको छ,” गान्धीको खुल्ला पत्रमा लेखिएको छ।
अध्यक्ष गान्धीले केरलाको वायानाद निर्वाचनबाट पनि उम्मेदवारी दिएका छन्। “मैले पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्म एकताका लागि प्रयास गरेको छु,” उनले भने। आफ्नो पार्टीले किसान, महिला, साना व्यापारी, युवा र गरिवहरूका लागि कल्याणकारी काम गर्न चाहेको उनको भनाई छ।
उनले वर्तमान भारतीय जनता पार्टी नेतृत्वको सरकारले भने १५ देखि २० जना उद्योगपतिका लागि मात्रै काम गरेको पनि आरोप लगाए।भारतमा सात चरणमा हुने लोकसभा निर्वाचनमध्ये अमेठीमा पाँचौ चरणमा यही मे ६ तारिखका दिन मतदान हुन लागेको छ।
गत अप्रिल ११ देखि सुरु भएको भारतको लोकसभा निर्वाचन यही मे १९ मा सकिने छ।
डिसी नेपाल





