काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अबको ६ महिनाभित्र कर्णालीको विकासको लागि गुरुयोजना तयार पारिसक्ने बताएका छन्। शुक्रबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री शाहीले पहिलो वर्ष तयारीमै बितेको जनाए।
उनले भने, ‘हाम्रो पहिलो वर्ष तयारी गर्नमै व्यतित भयो। हामीले प्रशासनिक संरचना तयार गर्यौं। समग्र विकासलाई अघि बढाउनको लागि जनशक्ति आवश्यक हुन्छ। त्यसतर्फ ध्यान दिँदै हामीले कमभन्दा कम जनशक्तिमा बढिभन्दा बढि काम लिने नीति अख्तियार गरेका छौं।’
मुख्यमन्त्री शाहीले आफूहरु योग्य कर्मचारी नियुक्ती गर्ने तयारीमा जुटेको पनि जनाए। उनले भने, ‘जनशक्ति कम भर्ना गर्ने उद्देश्यले हामीले योग्य कर्मचारी नियुक्ती गर्नुपर्छ भनेका छौं।’
पहिलो वर्ष कानूनहरु निर्माण गर्नुपर्ने भएकोले उक्त कामपनि सम्पन्न गरिसकेको उनको भनाइ छ। बजेट कार्यान्वयनको सवालमा भने आफूहरुले लक्ष्य नभेटेको उनको भनाइ छ । समग्र कर्णाली प्रदेशको विकास गर्नेगरि आफूहरुले गुरुयोजना बनाएको सुनाउँदै उनले भने, ‘बसोबास वैज्ञानिक छ कि छैन त्यो हेरेका छौं। सडक, विजुलीलगायतका अत्यन्तै महत्वपूर्ण पक्षहरुमा पनि हामीले ध्यान दिएका छौं। एकीकृत वस्ती विकास कार्यक्रम अघि बढाउनेछौं ।’
त्यस्तै गुरुयोजनाअन्तर्गत कुल कति सडक र पुलहरु निर्माण गर्नेलगायतका विषयमा पनि आफूहरुले ध्यान दिएको शाहीले बताए। उत्पादनको क्षेत्रमा पनि विशेष ध्यान दिईएको उनको भनाइ छ। उनले भने, ‘हर्बल, जुडिबुटी र जलस्रोतलगायतका पर्यटनका क्षेत्रमा पनि हामीले विशेष अध्ययन तथा अनुशन्धान गरेका छौं । अहिले हामी अध्ययनको सुरुवातमा छौं।’
बजेट कार्यान्वयनमा भने आफूहरुले चुनौती भोग्नु परेको उनले गुनासो सुनाए । ‘९ अर्बको विकास बजेट थियो’, उनले भने, ‘हामीले प्रदेशवासीहरुको मागका आधारमा योजना बनायौं। बजेट कार्यान्वयन गर्दै जाँदा कतिपय योजनाहरु फिजिबल नै भएनन्। कतिपय योजनाहरु डुप्लिकेशनको मारमा परे।’
ईन्जिनियरलगायतका प्राविधिकको दक्ष जनशक्तिको अभावका कारण विकास निर्माणका कामहरु द्रुत गतिमा हुन नसकेको मुख्यमन्त्री शाहीले स्वीकारे । उनले भने,‘हाम्रो बजेट शतप्रतिशत कार्यान्वयन भएन् ।’
त्यस्तै शाहीले संघीयता कार्यान्वयनको सवालमा पनि संघ, प्रदेश र स्थानीय तहबीच तालमेल नभएको जिकिर गरे । उनले भने,‘तीन वटा सरकारबीच जसरी तालमेल तथा सहकार्य हुनुपर्दथ्यो, त्यो हुन नसकेकै हो । यो लुकाएर लुक्ने कुरा होन। हामीले भर्खरै काठमाडौंमा सम्पन्न परिषदको बैठकमा सुझाएका छौं । संघले जसरी समन्वय गर्नुपर्दथ्यो, त्यसरी गर्न सकेन।’
डिसी नेपाल





