Home > Blog > ‘असनमा डोजर चले हामी छाती थाप्नेछौं’

‘असनमा डोजर चले हामी छाती थाप्नेछौं’

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

सार्वजनिक जग्गा मिचेर व्यापारिक भवन बनाउने स्वार्थी समूहहरूको चलखेलले काठमाडौंका पुराना सम्पदा जोगाउनु चुनौतीपूर्ण बन्दै गएको छ।

बालुवाटार जग्गा प्रकरण, खुलामञ्च अतिक्रमण लगायत थुप्रै घटना पछिल्लो समय सार्वजनिक भए, जसले भू–माफिया र ठेकेदारहरूको चलखेल उदांग पार्यो।

असनको ‘घडीघर’ काठमाडौंको त्यस्तै एउटा सम्पदा हो, जसको संरचना मासेर व्यावसायिक लाभ उठाउने प्रयास भइरहेको छ।

आठ आना तीन दाम क्षेत्रफलमा बनेको यो घरमा एकै छतमुनि १३ वटा पसल छन्। तीन परिवार बसोबास गर्छन्। उनीहरू पुर्खौं पुर्खादेखि यहीँ छन्। कोही त तीन सय वर्षदेखि बस्दै आएको बताउँछन्।

मल्लकालमा ‘व्यापारिक केन्द्र’ का रूपमा विकास गरिएको यो घरलाई नेपालकै पहिलो ‘डिपार्टमेन्ट स्टोर’ मानिन्छ।

पुरातात्विक महत्वका आधारमा संरक्षण गरिनुपर्ने घडीघर मास्न खोज्ने अरू कोही होइन, रेखदेख र बहाल उठाउने जिम्मेवारी पाएको सरकारी निकाय गुठी संस्थान हो।

गुठीले भुइँचालोपछि पुनर्निर्माणका नाममा घडीघर भत्काएर ‘कम्प्लेक्स’ बनाउन खोजेको हो।

उसले एक निजी व्यापारिक संस्थालाई जग्गा भाडामा दिने सम्झौता २०७४ सालमै गरेको थियो। तीन वर्ष निर्माण अवधि तोकिएको थियो। त्यसपछि २७ वर्ष उक्त व्यापारिक समूहले अकन्टक कारोबार गर्नेछ।

यसले ‘सन्तान दर सन्तानदेखि’ यहाँ बस्दै आएकाहरूको उठिबास हुनेछ।

स्थानीयले यसको विरोधस्वरुप करिब तीन महिनादेखि असन चोकमा कालो ब्यानर टांगेका छन्। सार्वजनिक सुनुवाइ गरिसके। महानगरपालिका गुहारिसके।

करारविपरीत पसलबाट हटाउन खोजेको र सम्पदा मास्न खोजेको भन्दै जिल्ला अदालतमा मुद्दा पनि हालेका छन्। जेठ ६ गते तारेख छ।

असन बजारमा साना पसलहरू मासेर व्यापारिक कम्प्लेक्स बनाउन खोजेपछि स्थानीयले विरोधस्वरूप टांगेको कालो ब्यानर। तस्बिर: सेतोपाटी
गुठी संस्थान भने टसमस छैन।

उसले यही वैशाख ११ गते २५ नम्बर वडा कार्यालयलाई चिठी पठाएर उक्त घर खाली गरिदिनू भनेको छ। घर खाली गर्न तीन दिनको अल्टिमेटम दिएर सूचना पठाएको छ।

अदालतमा मुद्दा विचाराधीन रहेकै बेला जबर्जस्ती घर भत्काउन खोजेपछि स्थानीयले यही वैशाख २७ गते असनमा बृहत जनसभा घोषणा गरेका छन्।

त्यस दिन काठमाडौंका सांसदहरूलाई डाकेर घडीघरको महत्व बुझाउने र गुठी संस्थानको नियत पर्दाफास गर्ने सजीव बज्राचार्यले बताए।

सजीवको पसल घडीघरको दक्षिणी मोहडामा छ। तीन मिटर लम्बाइ र दस मिटर चौडाइको पसलमा उनी मरमसला बेच्छन्। यही उनको रोजीरोटी हो।

‘हाम्रो पुर्खा झन्डै तीन सय वर्षदेखि यहाँ पसल चलाउँदै आएको हजुरबुबा भन्नुहुन्थ्यो,’ ६१ वर्षीय सजीवले भने।

‘मुद्दा चल्दाचल्दै घर खाली गर्नू भन्ने सूचना पठाएर गुठीले सम्पदामाथि डोजर चलाउने नियत देखाएको छ,’ उनले भने, ‘असनमा डोजर चल्यो भने हामी छाती थाप्नेछौं।’

यस सम्बन्धमा हामीले गुठीका एक अधिकारीसँग कुरा गर्दा ‘भुइँचालोले घर जोखिमपूर्ण अवस्थामा पुगेकाले भत्काउन लागेको’ दाबी गरेका थिए।

व्यापारिक कम्प्लेक्स बने पनि अहिलेका बहालवालालाई मुख्य प्राथमिकता दिइने उनको भनाइ थियो।

यहाँका बसोबासी भने भुइँचालोको क्षति हेरेर भत्काउन खोजेको तर्कसँग सहमत छैनन्।

‘१९९० को महाभूकम्पमा यो घर पूर्ण रूपमा क्षति भएपछि हाम्रा पुर्खाले संरचनामा कुनै फेरबदल नगरी जगदेखि नै पुनर्निर्माण गरेको इतिहास छ,’ स्थानीयले गुठीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ।

२०७२ को भुइँचालोपछि सम्बन्धित निकायबाट घर निरीक्षण गर्दा बस्नयोग्य ठहर गरी ‘रातो स्टिकर’ नटाँसिएको ज्ञापनपत्रमा उल्लेख छ।

यस आधारमा पूरै भत्काउनुको साटो ‘रेट्रोफिट’ गरेर मौलिक स्वरूप जोगाउन सकिने यहाँका बसोबासी बताउँछन्।

पुनर्निर्माण नै गर्नुपर्ने भए पनि भोगचलन गर्दै आएका १४ परिवारले नै सामूहिक लगानीमा गर्न मञ्जुरी जनाएका छन्।

गुठीले गरेको करार सम्झौतामा पनि दैवी वा प्राकृतिक प्रकोपका कारण क्षति भए बहालवालाले नै मर्मत गर्ने भनिएको छ।

‘अहिलेको संरचना नमासिने गरी हामी आफैं पुनर्निर्माण गर्छौं भन्दाभन्दै व्यापारिक संस्थालाई सुम्पन खोज्नुले गुठीको नियत प्रस्ट हुन्छ,’ सजीवले भने।

सजीव बज्राचार्य आफ्नो मसला पसलमा। तस्बिर: सेतोपाटी
घडीघरको इतिहास बुझ्न काठमाडौंको मल्लकालीन सहरी संरचना थाहा पाउनुपर्छ।

मल्लकालमा काठमाडौंभित्र चारथरीका सार्वजनिक स्थल थिए। वसन्तपुर दरबार स्क्वायर सबभन्दा ठूलो थियो, जहाँ राज्यभरका मान्छे जमघट हुन्थे।

दोस्रो तहमा इन्द्रचोक, असन, जैसीदेवलजस्ता चोक पर्छन्। यी मल्लकालीन ‘मार्केट स्क्वायर’ हुन्।

तेस्रोमा सहरभित्रका बहाल पर्छन्। योभन्दा भित्र चौथो तहका स–साना चोक हामी देख्छौं।

असन, अन्नपूर्ण मन्दिर सामुन्नेको घडीघर दोस्रो तहको सार्वजनिक स्थलसँग जोडिन्छ।

मल्ल राजाहरूले ‘मार्केट स्क्वायर’ को अवधारणामा असन चोक बनाए। पसलहरू विकास गरे। असनको यो घर त्यतिबेलाकै सबभन्दा ठूलो किनमेल थलो हो।

पृथ्वीनारायण शाहले काठमाडौं जितेपछि उनका छोरा बहादुर शाहले यो घर हड्पेको भनाइ छ।

उनले दरबारमा मरेका वा मारिएका मान्छेको आत्माको शान्तिका लागि पूजाआजा गराउन ‘श्री ५ वायुदेवता गुठी’ चलाए। गुठीले यही घरबाट हनुमानढोकासम्म पूजा लैजान थाल्यो।

पूजाको प्रबन्ध मिलाउने सुसारेहरू धेरै पछिसम्म यहीँ बस्ने गरेको सजीव सम्झन्छन्।

यो नियम राजा वीरेन्द्रको पालासम्म चल्यो। घरबहालबाट उठेको पैसाले दसैं बेला हनुमानढोकामा पूजा लगिन्थ्यो। यो चलन कायम छ।

यति मात्र होइन, नापीको कागजमा ‘श्री ५ वायुदेवता गुठी सञ्चालन गर्ने चौतारिया चित्रविक्रम शाह, रेशमविक्रम शाह, चुँडाविक्रम शाह लगायत’ को नाम पनि उल्लेख छ। पहिले घर बहाल उठाउन उनीहरू नै आउँथे।

पछि २०३१ सालमा नापी विभागका अधिकारी यहाँ फित्ता लिएर कित्ताकाट गर्न आए। वरपरका सबैले लालपुर्जा पाए, यो घरमा भने पसलहरू स–साना कित्तामा बाँडिएकाले नापीले एकीकृत ‘फिल्डबुक’ बनाएर गयो।

उक्त फिल्डबुकमा ‘सन्तान दर सन्तानले बहाल बुझाएसम्म बस्न पाउने गरी भोगचलन गरिआएको’ उल्लेख छ।

गुठी संस्थानले २०७० फागुन ८ गते गरेको करार सम्झौतामा पनि ‘सन्तान दर सन्तानदेखि बसी आएको’ भनिएको छ। उक्त करार २०७० फागुन १ देखि लागू भएको हो। पाँच वर्षको म्याद छ। त्यसपछि पनि हटाउने व्यवस्था छैन।

बरू प्रत्येक पाँच वर्षमा बहाल पुनरावलोकन गर्ने भनिएको छ। पुनरावलोकन गर्दा पाँच प्रतिशत वृद्धि हुनेछ। यसमा दुवै पक्षले मञ्जुरी गरेका छन्।

यो सम्झौताअनुसार बहालवालाले नियमित भाडा बुझाएसम्म हटाउन मिल्दैन। महिना गुज्रेको ६० दिनभित्र बहाल चुक्ता नगरे बल्ल पसल कब्जामा लिन सकिने उल्लेख छ।

यही प्रावधानमा टेकेर बहालवालाले आफूमाथि अन्याय भएको दाबी गर्दै आएका छन्।

यो घरको साँस्कृतिक महत्व पनि छ।

घरको एउटा कित्ता अशोक वृक्ष विहारको नाममा छ। विहारमा अमिताभ बुद्धको मन्दिर छ। यो मन्दिर पाँच सय वर्ष पुरानो भएको विहारका गुठियार बताउँछन्।

विहारमा हरेक वर्ष पञ्चदानको दिन ठूलो उत्सव हुन्छ। शाक्य, बज्राचार्यहरू भिक्षा माग्न आउँछन्। उनीहरूलाई गक्षअनुसार चामल, नुन, पैसा दान दिने चलन छ।

अशोक वृद्ध विहारको अमिताभ बुद्ध। यो विहार पाँच सय वर्ष पुरानो भएको स्थानीयको दाबी छ। तस्बिर: नारायण महर्जन/सेतोपाटी
घर भत्काउने हो भने पाँच सय वर्ष पुरानो मन्दिर नै मासिने खतरा छ।

प्राचीन स्मारक ऐन, २०१३ ले देवीदेवताको मन्दिर, चैत्य लगायत सम्पदा मौलिक रूपमा दुरुस्त राख्नुपर्ने व्यवस्था गरेको छ। यस आधारमा असनको घडीघर भत्काउनु उक्त कानुन उल्लंघन हो।

‘अमिताभ बुद्धको यति पुरानो मन्दिर हुनु र पञ्चदानको पुरानो संस्कृति यही घरबाट चल्नुले यहाँको इतिहास झल्काउँछ,’ अशोक वृक्ष विहारका गुठियार उत्तमधर तुलाधर भन्छन्, ‘हाम्रो प्रमाण भनेकै हाम्रो भगवान हो। भगवानको ठाउँ हामी एक इन्च छाड्दैनौं।’

व्यापारिक कम्प्लेक्सको योजना पहिलोपटक बनेको होइन।

यसअघि २०६२ सालमा पनि जग्गा भाडामा दिन खोजिएको थियो। त्यतिबेला एक जना तालुकदारले बहालवालालाई पत्तै नदिई नगरपालिकाबाट नक्सा पास गराएका थिए।

बहालवालाहरूले मुद्दा हाले। जिल्ला अदालतले जितायो। पुनरावदेन र सर्वोच्च अदालतमा भने उनीहरू हारे।

कानुनी लडाइँमा हारे पनि उनीहरूले विरोध गरिरहे। स्थानीयले साथ दिए। घर भत्काउने योजना सफल भएन।

यसपालि गुठी संस्थान घर भत्काउने प्रपञ्चमा लागेपछि स्थानीय फेरि आन्दोलित छन्।

‘असनका प्रत्येक घर र मन्दिरसँग काठमाडौं सभ्यताको पहिचान जोडिएको छ,’ सजीव भन्छन्, ‘स्थानीय सरकार र सम्बन्धित निकायले सम्पदा मास्ने खेल अन्त्य गराएनन् भने अब सम्पदा जोगाउन असन आफैं जाग्नेछ।’

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1