बागलुङ – बडीगाड गाउँपालिकाले जेठको दोश्रो सातासम्म सबै योजना सक्नेगरि कार्यक्रम तय गर्दै तोकिएको समयमा योजना सम्पन्न नगरेमा भुक्तानी नदिने निर्णय गरेको छ । प्रत्येक महिनाको १५ गते बस्ने गाउँ कार्यपालिकाको हालै बसेको कार्यपालिकाको बैठकले जेठ १५ पछिको कुनैपनि योजनाको भुक्तानी सदर नगर्ने निर्णय गरेको हो ।
गाउँ कार्यपालिकाको बैठकले बडीगाड गाउँपालिकाका गौरवका योजनाको रुपमा प्रशासनिक भवन, २ ओटा सडक, २ ओटा आकाशे पुलको डिपिआर सम्पन्न गर्ने, गाउँपालिकाको लागि आवश्यक तिन प्रकारका हेवि इक्वीपमेन्ट खरिद गर्ने लगाएतका निर्णय पनि गरेको छ । गाउँपालिकाले प्रस्तावमा ल्याएको शिक्षा ऐनमा प्राप्त संशोधन प्रस्तावमाथि पनि बैठकमा छलफल भएको प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले बताए । गाउँपालिका भित्रका विद्यालय मर्जिङ र दरबन्दी मिलानको तयारीको लागी कार्यसमितिको गठन गर्ने निर्णय गरेको समेत प्रमुख प्रशासकीय अधिकृत सुवेदीको भनाई छ ।
शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास शाखाका प्रमुख तथा वडा ३ का अध्यक्ष खड्क पुनको संयोजकत्वमा समिति गठन गरिएका छ । समितिको सदस्यहरुमा वडा नं. ७ का अध्यक्ष कृष्ण गुरुङ, १ का अध्यक्ष बोमबहादुर थापा, कार्यपालिका सदस्य मिना रायमाझी र सदस्य सचिवमा शिक्षा अधिकृत कृष्णराज रेग्मी छन् ।
जनमञ्च





