केही समयअगाडि अस्ट्रेलियामा बस्ने एक नेपाली मूलका सेवाग्राहीले फोन गर्दै निराश स्वरमा भने, ” गुरु ! कमाइ र ऋणको सन्तुलन भएन । निकै तनावमा छु । आफ्नो गाडी पनि बेचेँ । यहाँ चिट्ठा किन्न पाइन्छ । एउटा चिट्ठा पर्यो भने त लगभग जीवन नै सेटल हुन्छ । लौ न मेरो भाग्य बदलिदिनु पर्यो ।” …..यस्तै आशयका धेरै फोनहरू आउँछन् । धेरै सेवाग्राही यस्तै आशा राख्नुहुन्छ होला, एक दक्ष ज्योतिषीले भाग्य बदलिदिन सक्छ ।
हुन त मलाई पनि कुनै बिरामीलाई डाक्टरले शल्यक्रिया गरेर बचाउँदा लाग्छ, डाक्टरले मृत्यबाट बचायो तर खासमा डाक्टरले मृत्युबाट होइन; सम्बन्धित रोगको उपचार गरी उक्त समयमा रोगबाट बचाएको हो ।
जतिसुकै मीठो परिकार बनाउने भोजनविद् तथा कुकले पनि चिनीको स्वाद अमिलो बनाउन सक्दैन । किनकि चिनीको ‘भाग्य’ गुलियो नै हो । उसले सक्ने भनेको कस्तो परिकारमा, कति मात्रामा, कुन समयमा गुलियो मिश्रण गर्दा खाना बढी स्वादिष्ट र स्वस्थकर हुन्छ, कस्तो परिकारमा गुलियो मिसाउनु हुँदैन, कस्तो व्यक्तिले गुलियो खान मिल्छ, कस्तो व्यक्तिले गुलियो खान मिल्दैन भन्ने जस्ता कुराहरुको ज्ञान दिने मात्रै हो ।
फलित ज्योतिषीले पनि कुनै व्यक्तिको जन्मस्थानमा ऊ जन्मेको समयमा ग्रहहरुको अवस्था कस्तो थियो र त्यसको प्रभाव व्यक्तिको जीवनकालमा कस्तो पर्छ भन्ने कुराको विश्लेषण गर्ने मात्रै हो ।
जसरी खुर्सानी पिरो, कागती अमिलो, उखु गुलियो हुन्छ त्यसरी नै हरेक व्यक्तिमा पनि फरकफरक गुण हुन्छ । ज्योतिषीय परामर्शले त्यो गुण पत्ता लगाउन मद्दत पुर्याउँछ ।
गायन गुणयुक्त व्यक्तिलाई नृत्यमा नजान सल्लाह दिन्छ । स्वदेशमै उन्नति गर्न सक्ने योगयुक्त व्यक्तिलाई विदेशी भूमिमा पसिना खेर फाल्नबाट ज्योतिषीय परामर्शले बचाउन सक्छ । साहित्यमा उत्कृष्ट हुनसक्ने गुणयुक्त विद्यार्थीलाई अभिभावकको दबाबले विज्ञान पढेर डिप्रेसनको सिकार हुनबाट ज्योतिषीय परामर्शले बचाउन सक्छ । व्यवसायिक दिमाग भएको व्यक्तिलाई जागिरमा जाँदा उत्पन्न हुन सक्ने जीवन वितृष्णाबाट जोगाउन सक्छ । व्यक्ति व्यक्ति बीचको सम्बन्धको विश्लेषण गरी सम्बन्ध विच्छेदका लागि हुने अदालतको भीडलाई ज्योतिषीय परामर्शले कम गराउन सक्छ । यसरी जीवनमा हरेक पाटामा ज्योतिषीय परामर्शले मार्गनिर्देशन गरी प्रतिकूल र अनुकूल समयको पहिचान गरेर सफल जीवन जिउन मद्दत पुर्याउन सक्छ ।
हो, भाग्य छ भनेर डोकोमा दूध दुहेर खान पाइँदैन फेरि भाग्यमै छैन भने मुखैमा राखेको दूध पनि निल्न पाइँदैन । सफलताको लागि कर्मको विकल्प छँदै छैन तर कर्म गरेर मात्रै पनि सफल भइँदैन । यसर्थ वास्तविक सफलताको लागि आफूअनुकूलको कार्यक्षेत्रमा उचित समयमा उचित तरिकाले कर्म गर्नुपर्छ ।
कुन व्यक्तिले, कुन समयमा, कुन कार्यक्षेत्रमा, कसरी कुन कर्म गर्दा सार्थक सफलता प्राप्त हुन्छ भन्ने विश्लेषण एक दक्ष ज्योतिषीले गर्न सक्छ । भाग्य नै बदल्न भने होइन । वर्षालाई रोक्न सकिदैन तर सम्भावित वर्षाको पूर्वानुमान गरी छाता वा ओतको व्यवस्था गर्न सकिन्छ ।
ज्योतिषीय परामर्श किन ?
✍️ ज्यो. सूर्य पौडेल
(‘ज्योतिष रत्न’ अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित)
ज्योतिषीय परामर्श किन ?
ज्योतिषीय परामर्श किन ?
तपाईको प्रतिक्रिया





