बागलुङ – चालु आर्थिक बर्षभित्रै साविकको धौलागिरिका चार जिल्लाका ८ हजार घरधुरीमा एक घर एकधारा पु¥याउने काम प्रभावित हुने भएको छ । कर्मचारी र बजेटको अभावका कारण बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा सञ्चालित कार्यक्रम प्रभावित हुने देखीएको हो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङले सुरु गरेका योजनाहरुको कामले कर्मचारी र बजेटको अभावका कारण सोचेजस्तो प्रगति हाँसिल गर्न नसकेको कार्यालयले जनाएको छ । करोडौंको लागत स्टमेट भएका योजनामा कुल बजेटको १० प्रतिशतसम्म पनि बजेट उपलव्ध नहुँदा काम गर्न कठिन हुने गरेको कार्यालय प्रमुख प्रेमप्रसाद डोटेलले बताए । केन्द्र सरकार मातहतमा सञ्चालनमा रहेको डिभिजन कार्यालय प्रदेश सरकार मातहतमा आउँदा कार्यक्षेत्र बढेको र दरबन्दी कटौती भएका कारण कार्यालयमा कर्मचारीको अभाव रहेको छ ।
चलिरहेका कामहरुमा पर्याप्त कर्मचारी खटाउन नसक्दा काम प्रभावित हुने गरेको डोटेलले गुनासो गरे । आयोजनाहरुमा हाल ८ जना मात्रै कर्मचारीले प्राबिधिक काम गर्दै आएका छन् । प्राबिधिक क्षेत्रका कर्मचारीको आवश्यकता बढी हुने कार्यालयका लागि चार जना मात्रै इञ्जिनियर कर्मचारी उपलव्ध गराएकाले काम गर्न कठिन हुने गरेको कार्यालयका सूचना अधिकारी बिक्रमप्रसाद शाहले बताए । ४४ हजार जनसंख्यालाई शुद्ध खानेपानी उपलव्ध गराउने गरी चालु आर्थिक बर्षमा कार्यालयले ८ हजार घरधुरीमा एक घर एक धारा निर्माणको लक्ष्य राखेर काम अघि बढाएको थियो । आर्थिक बर्षको पछिल्ला दुई महिना मात्रै बाँकी रहँदा २ हजार घरमा मात्रै धारा जडान भएका छन् । ‘कार्यक्षेत्र चार जिल्ला दिईएको छ, बजेटको सिलिङ पनि सिमित छ’ प्रमुख डोटेलले भने ‘अभावै अभावका कारण लक्षमा पुग्नेगरी काम गर्न सकिएन् ।’
केन्द्र सरकार मातहतको डिभिजन कार्यालयबाट बागलुङ जिल्लाका मात्रै ६५ आयोजना प्रदेश सरकार मातहतमा गठन भएको डिभिजन कार्यालयमा हस्तान्तरण भएका छन् । हस्तान्तरण भएका बाहेक प्रदेश सरकारले तोकेका १६ योजनाको काम पनि कार्यालयमार्फत भैरहेको छ । बागलुङमा ८१, पर्वतमा ६१, म्याग्दीमा २६ र मुस्ताङमा २५ वटा योजनाको काम चलिरहेको भएपनि अपेक्षित प्रगति हाँसिल गर्न नसकिएको डोटेलले बताए । हालसम्म कार्यालयले ५७ प्रतिशत भौतिक प्रगति र २२ प्रतिशत बित्तिय प्रगति गरेको आँकडा छ । यो बहुबर्षे योजनामा आएको सानो रकमको मात्रै प्रगति विवरण हो । खानेपानीका अधिकांश आयोजनाहरु बहुबर्षे आयोजना हुने र प्रत्येक बर्ष स–सानो परिमाणमा बजेटको व्यवस्था हुने भएकाले सोचेजस्तो काम गर्न कठिन हुने गरेको डोटेलले बताए ।
धौलागिरीका अन्य जिल्लाको तुलनामा बागलुङमा आधारभुत तहको खानेपानीको समेत पहुँच कम रहेको भएपनि बजेट भने अन्य जिल्लाकै हाराहारीमा आउने गरेको उनको गुनासो थियो । बागलुङका ढोरपाटन नगरपालिका, बरेङ गाउँपालिकाका केही गाउँमा अझैपनि आधारभुत तहको पानी उपलव्ध गराउन नसकिएको र पहिलो चरणमा त्यस्ता क्षेत्रहरुमा पानीको उपलव्धताको लागि प्रयास थालिएको डोटेलले जानकारी गराए । कार्यालयले बजेटको आधारमा काम सन्तोषजनक भएको भएपनि सर्वसाधारणको मागका आधारमा काम गर्न नसकिएको जनायो ।
जनमञ्च





