गोर्खा अनलाइन रेडियो यूके,
लन्डन । बेलायतको सबैभन्दा पूरानो सामाजिक संस्था ‘यती नेपाली एसोसिएसन यूके’ को नयां नेतृत्वमा वरिष्ठ समाजसेवी एवं व्यवसायी ध्रुव केसी निर्विरोध रुपमा निर्वाचित भएका छन् । आइतबार लन्डनस्थित गोल्डेनसीप रेष्टुरेन्टमा सम्पन्न अधिवेशनले केसीलाई २९ औं कार्यसमितिका लागि निर्विरोध अध्यक्ष चुनेको हो । सन् १९७४ मा लन्डन आएका केसीले सन् १९८२ देखि यतीको सामाजिक सचिव, कोषाध्यक्ष, ७ वर्ष महासचिव र ५ वर्ष उपाध्यक्ष भएर काम गरिसकेका छन भने २१ वर्ष नेपाल पर्यटन बोर्डको यूके दूत भएर काम गरे भने उनी नेपलिज क्याटरिङ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष पनि हुन् ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा बाचस्पति रेग्मी, उपाध्यक्ष जीवन सेन, महासचिव डा. मुकुन्द बास्तोला, सह-महासचिव कृष्ण पौडेल, कोषाध्यक्ष देव गुरुङ, सामाजिक सचिव जित रानाभाट, सांस्कृतिक सचिव माया केसी, प्रकाशन सचिव काशीराज बोहोरा र सदस्यमा तिलक भट्टराई चयन गरेको छ । अन्य रिक्त रहेका ६ सदस्यहरु भने निकट भविष्यमा थप गरिने बताइएको छ । अधिवेशनले तीन संरक्षक र ११ जना सल्लाहकार राख्ने व्यवस्था र अध्यक्षमा उठ्न एक कार्यकाल काम गरेको हुनुपर्ने विधान संशोधन गरेको छ। संस्थामा जम्मा ९७ जना साधारण सदस्य छन् । कार्यक्रममा निवर्तमान अध्यक्ष शशीधर नेपालले आफ्नो कार्यसमिति, निर्वाचन समिति र अधिवेशन सम्पन्न गराउन खटिने समाजसेवी अग्रहजहरु मदन थापा, रामशरण सिम्खडा, हरि केसी, सोलिसिटर राजु थापा, चित्रबहादुर गुरुङ लगायतलाई धन्यवाद दिएका थिए ।
नवनिर्वाचित अध्यक्ष केसीले यतीले विगतमा मनाउने गरेको मुख्य चाडपर्व, खेलकुद, च्यारिटी गतिविधिलाई निरन्तरता दिंदै विभिन्न सामाजिक कार्यलाइ जोड दिने बताएका छन् । युरोपकै पूरानो संस्थाको रुपमा रहेको संस्था पछिल्लो समयमा ओझेलमा परेको महसुस बेलायातवासीले गरेका छन् । नयां नेतृत्वले समाजलाई अगाडी बढाउन महत्वपूर्ण भूमिका खेल्ने सबैको चासो रहेको छ । सन् १९६० मा स्थापना गरिएको यस संस्थाका संस्थापक अध्यक्ष वरिष्ठ राजनीतिज्ञ पशुपति शमशेर जबरा हुन् ।यती एसोसिएसन यूके’ को निर्वाचन गराउन निर्वाचन समिति संयोजक आर के त्रिपाठी, सदस्यहरु उमेशराज मोक्तान र क्याप्टेन रत्न श्रेष्ठले पहल गरेका थिए ।
फोटो शिव भण्डारी
यती एसोसिएसन यूके’ को नयां नेतृत्वमा ध्रुब केसी
यती एसोसिएसन यूके’ को नयां नेतृत्वमा ध्रुब केसी
तपाईको प्रतिक्रिया





