धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आवास क्षेत्रमा खानेपानीको हाहाकार भएको छ । मजदुर, नर्स, जुनियर रेसिडेन्ट, सिनियर रेसिडेन्ट, विद्यार्थी तथा कर्मचारीले पानीको अभाव भएको गुनासो गरेका हुन् ।
प्रतिष्ठान प्रशासनले पानी वितरणमा अनियमितता गरेको आरोप उनीहरूको आरोप छ । लामो समयदेखि धारामा पानी नआउँदा समस्या बढेको बालरोग विशेषज्ञ डा. अरुणकुमार सिंहले गुनासो गरे । ‘यहाँ ठूलाबडा बसेका स्थानमा नियमित पानी आउँछ । आवास पनि राम्रो पहुँच हुनेहरूले पाउँछन्,’ डा. सिंहले भने । खानेपानी वितरणलाई प्रभावकारी बनाई सबै आवास क्षेत्रमा समान रूपले पानी वितरण गर्न माग गर्दै जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीले गत मंंगलबार कर्मचारी प्रशासनलाई ज्ञापनपत्रसमेत बुझाएको थियो । सोसाइटीका अध्यक्ष डा. कविराज पौडेल र सचिव डा. रौनक दाहालले विज्ञप्ति जारी गरी खानेपानीजस्तो कुरामा गम्भीर हुन चेतावनी दिएका छन् ।
प्रतिष्ठानको खानेपानी विभाग हेर्दै आएका इन्जिनियर मदन साहले तराहराबाट ल्याएको पानी तान्ने एउटा पम्प बिग्रिएका कारण कम पानी वितरण भएको बताए । आइतबारसम्म समस्या समाधान हुने उनले बताए । इन्जिनियर साहका अनुसार प्रतिष्ठानमा धरान–४ स्थित शिवजट्टाबाट दैनिक १० लाख लिटर पानी आउने गरेको छ । तराहराबाट दैनिक २० लाख लिटर पानी आउने भए पनि पम्प बिग्रिएर १५ लाख लिटर मात्र आउने गरेको छ । प्रतिष्ठानमा दैनिक ३० लाख लिटर पानी वितरण हुँदा २४ सै घन्टा पानी पुग्ने साहले बताए । पाइपलाइनमा समस्या भएको उनको दाबी छ । प्रतिष्ठानमा दुई हजार कर्मचारीको परिवारसहित बस्दै आएका छन् ।
नयाँ पत्रिका





