मस्को– रूसको राजधानी मस्कोमा नेपालकी निवर्तमान कुमारी मतिना शाक्य पुगेकी छिन् ।
रसियाली जनमैत्री विश्वविद्यालयमा डा भीष्म आचार्यको अग्रसरतामा अप्रिल १८ मा एक कार्यक्रम गरी कुमारी मतिना शाक्यको स्वागत गरियो ।
नेपालमा पढाइ समाप्त गरिएपछि भविष्यमा कुमारी देवीको निम्ति उच्चशिक्षा प्राप्तिका लागि रसियाली जनमैत्री विश्वविद्यालयको तर्फबाट छात्रवृत्तिको व्यवस्था गरिने सो क्रममा प्रतिबद्धता जनाइयो ।
त्यसको भोलिपल्ट नेपाली संस्कृतिका प्रशंसक र प्रचारक रवीन्द्र भट्टराईको अग्रसरतामा मास्कोस्थित नेपाली राजदूतावासमा कुमारीको पूजाअर्चनासहित सम्मान समारोह गरिएको थियो ।
कुमारी मतिना शाक्यको जन्म सुनिता शाक्य र प्रतापमान शाक्यको सुपुत्रीको रूपमा भाद्र १० गते २०६२ सालको कृष्णजन्माष्टमीका दिन काठमाडौंको इटुम्बाहालमा भएको हो । उनी २०६५ को आश्विन १२ गते महाअष्टमीको शुभमूहूर्तमा कुमारी देवीको श्रीपद प्राप्त गरी ९ वर्षसम्म कुमारी घरमा रहेकी थिइन् ।
उनी २०७४ को आश्विन २० गतेसम्म नेपालकी अधिष्ठाता देवी तुलजाभवानीको प्रतिनिधित्व गरी सर्वसाधारणदेखि लिएर सर्वोच्च शासकसम्म सम्पूर्ण हिन्दू तथा बौद्ध धर्माबलम्बीहरूबाट पूजित भएकी थिइन् ।





