कास्की । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राणा र पञ्चायतकालमा जस्तो अहिले विचार बोकेकै आधारमा कोही पनि जेल जानु र विस्थापित हुनु नपर्ने बताएका छन्।
मदन भण्डारी फाउण्डेसन कास्कीले नेपाल कम्युनिष्ट पार्टीको ७०औँ स्थापना दिवसका अवसरमा आज पोखरामा आयोजना गरेको ‘वर्तमान आर्थिक संरचना र समृद्धिको यात्रा’विषयक बहस कार्यक्रममा उनले भने, ‘विगतको जस्तो अवस्था अहिले देशमा छैन, सबैलाई राजनीतिक क्रियाकलाप गर्ने स्वतन्त्रता छ तर राजनीतिको आडमा आपराधिक क्रियाकलाप हुन्छन् भने अहिले पनि छुट छैन।’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सचिवालय सदस्यसमेत रहेका मन्त्री पोखरेलले राजनीतिक प्रणालीबाट विकसित भएको र जनताका अधिकार स्थापनाका लागि ७० वर्षदेखि लडेको पार्टी अधिनायकवादी बन्न नसक्ने स्पष्ट पारे।
नेकपा नेतृत्वको वर्तमान सरकारले एक वर्षको अवधिमा विकासको जग बसालेकाले अब देशलाई विकास र समृद्धितर्फ अगाडि बढाउने उनले उल्लेख गरे। प्रणाली फेरिएकाले त्यसका लागि कानून निर्माण गर्ने, ऐन बनाउनेलगायतका काम गर्नुपर्दा सरकारले जनताले अनुभूत गर्नेगरी काम गर्न नसकेको भन्दै उनले भने, “अबको राजनीति समृद्धिका लागि हो, विकासको मोडल भनेको निर्वाचनका बेला अगाडि सारिएका घोषणापत्र अनुसार नै हुन्छ, आम नागरिकले त्यस्तो विकासको अनुभूति छिट्टै गर्न सक्नुहुन्छ।”
पूर्वमन्त्री एवं नेकपाका नेता जनार्दन शर्माले वर्तमान कर्मचारीतन्त्रमा व्यापक फेरबदल आवश्यक रहेको भन्दै त्यसो नभएसम्म देशमा समृद्धि नआउने धारणा राखे। कर्मचारीतन्त्र सुविधामुखी भएको भन्दै उखले कर्णाली प्रदेशमा कर्मचारी जान नमान्नु यसको ज्वलन्त उदाहरण रहेको टिप्पणी गरे।
नेकपाको लक्ष्य समाजवादमा पुग्ने रहेको भन्दै नेता शर्माले समाजवादका बारेमा पार्टीभित्र बहस हुनुपर्ने बताए। नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरीले सरकारमा अधिनायकवाद हाबी भएको आरोप लगाए।
उनले शक्ति एकीकृत गरेर शक्तिशाली बन्ने प्रधानमन्त्रीको सिको वडाध्यक्षसम्मले गर्न खोजेकाले त्यसलाई रोक्नुपर्ने धारणा राखे।
डिसी नेपाल





