नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिवंगत पार्टीका नेता एवम् पूर्वमन्त्री रामकृष्ण ताम्राकारलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन्।
सभापति देउवाले बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको दिवंगत नेता ताम्राकारलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
त्यस अवसरमा उनले पार्टीको झण्डा ओढाएर नेता ताम्राकारको सम्मान गरेका थिए।
त्यसैगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौलालगायतका नेता, कार्यकर्ताले पनि दिवंगत नेता ताम्राकारप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।
नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष समेत रहेका पूर्वमन्त्री ताम्राकारको निधनप्रति गहिरो शोक व्यक्त गर्दै नेपाली कांग्रेसले बुधबारबाट सुरू गर्न लागेको राष्ट्रिय जागरण अभियान पनि दुई हप्तापछि सारेको छ।
रुपन्देहीको सिद्धार्थ नगरपालिकास्थित भैरहवा निवासी ताम्राकार २०४८ साल र २०५६ सालमा रुपन्देही जिल्लाको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। गिरिजाप्रसाद कोइरालाको विश्वास पात्रको रूपमा रहेका दिवंगत नेता ताम्राकार स्वास्थ्य र उद्योग मन्त्री समेत बनेका थिए।
विगत दुई वर्षदेखि क्यान्सर रोगले पीडित उनको मंगलबार ललितपुरस्थित अल्का अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
दिवंगत नेता ताम्राकारको आजै अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ ।
सेतोपाटी





