हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७ टुलिङ्गका स्थानीयले पाँच वर्षपछि उज्यालो देख्न पाएका छन्।
हिल्दुम वितरण केन्द्रले विसं २०७० मा टुलिङ्ग गाउँका ३१ घरधूरीलाई अन्धकारमुक्त बनाउने लक्ष्य राखेता पनि हिल्दुम वितरण केन्द्रका कर्मचारीकै लापरवाहीका कारण त्यहाँ स्थानीयले शनिबार साँझबाट मात्र उज्यालो देख्न पाएका छन्।
टुलिङ्ग गाउँका स्थानीयलाई अन्धकारबाट उज्यालो बनाउनका लागि पहिलो किस्ता रु ९० हजार र दोस्रो किस्ता रु एक लाख ५७ हजार खर्च गरेर त्यहाँका स्थानीयले उज्यालो देख्न पाएका हुन्।
हिल्दुम वितरण केन्द्रको ढिलासुस्तीका कारण पाँच वर्षपछि उज्यालो देख्न पाएको स्थानीय नन्द शाहीले बताए। टुलिङ्ग गाउँका ३१ घरधूरीले पाँच वर्षसम्म उही पुरानो परम्पराअनुसार सल्लाको दियालो बालेर दिन चलाएको उनले जानकारी दिए।
ढिलै भए पनि अन्धकारबाट उज्यालो देख्न पाउँदा खुसी लागेको त्यहाँका स्थानीयवासीले बताएका छन्। गाउँमा पाँच वर्षपछि हिल्दुम वितरण केन्द्रको लाइन पुग्दा बालबालिकालाई रातिको समयमा अध्ययन गर्न सहज हुने भएको वीरबहादुर शाहीले जानकारी दिए।
डिसी नेपाल





