गोर्खा अनलाइन रेडियो यूके,
नेपाल प्रेस युनियन युरोप तदर्थ समितिको संयोजकमा सञ्जयभक्त कँडेल चयन भएका छन् । बेलायत र युरोपलाई कार्यक्षेत्र बनाएर पत्रकारितामा क्रियाशील कँडेललाई प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको प्रस्तावमा महासचिव अजयबाबु शिवाकोटीले युरोप संयोजकको जिम्मेवारीको पत्र दिएका हुन् । नेपाल प्रेस युनियन बेलायत शाखाको भर्खरै सम्पन्न प्रथम अधिवेशन सफल गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कंडेललाई युरोपका सबै देशहरुमा संगठन विस्तार गरी यथाशक्य अधिवेशन गर्न भनिएको छ ।
प्रेस युनियन बेलायतको संस्थापक सहसंयोजक समेत रहिसकेका कंडेल दर्पणसंसार डटकमका प्रधान सम्पादक तथा पत्रकार महासंघ बेलायतको महासचिवको पद सम्हाल्दै आइरहेका । नेपाल समाचारपत्रको बेलायत प्रतिनिधिसमेत रहेका उनी बेलायतस्थित नेपाली दूतावासले मनाउन गइरहेको ‘भिजिट नेपाल–२०२०’ समारोहको प्रचार–प्रसार विभागका सहसंयोजकसमेत हुन् ।
कँडेलले युरोपका अन्य देशका पत्रकारहरूलाईसमेत समेटेर तत्काल तदर्थ समितिको घोषणा गर्ने बताए ।प्रेस युनियन नेपालमा अन्तर्राष्ट्रिय पत्रकार महासंघको पहिलो सदस्य संस्था हो ।देश तथा विदेशमा गरी नेपाल कांग्रेसनिकट प्रेस युनियनमा १० हजार बढी पत्रकारहरु आवद्ध छन् । केन्द्रीय महाधिवेशनको तयारीमा रहेको युनियनको २८ वर्षे इतिहासमा आफूहरु पहिलोपटक विदेश शाखाहरु विस्तारकाक्रममा रहेको महासचिव शिवाकोटीले जानकारी दिए । युनियनको युएई र बेलायतमा अधिवेशन सम्पन्न भइसकेको र क्रमशः अन्य देशमा संगठनको विस्तारकाक्रममा रहेकोसमेत उनले बताए ।‘युनियनले उठाएका मुद्दालाई विश्वभरबाट समर्थन र ऐक्यबद्धता जुटाउन प्रवासमा शाखा विस्तारमा जुटेका छौं’–उनले भने ।





