महानगरीय प्रहरी वृत्त अन्तर्गत महानगरीय प्रहरी प्रभाग नागढुंगाले प्रतिबन्धित लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ।
राजधानीको मुख्य प्रवेशद्वार नागढुंगामा छुट्टाछुट्टै चेक जाँचको क्रममा राजविराजबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख ५७८४ नम्बरको यात्रुबाहक बसबाट लागुऔषधसहित सप्तरी शम्भुनाथ न.पा ७ बस्ने २५ वर्षीय प्रमोद कुमार साह,सोही स्थानकी ४३ वर्षीया सीता देवी, सुनसरी गर्जुताल ६ बस्ने ३० वर्षकी रम्भा देवी दासलाई पक्राउ गरिएको प्रहरीले बताएको हो।
उनीहरूको साथबाट लागुऔषध नुफिन ५६७ एम्पुल, फेनारगन ६१५ एम्पुल, डाइजेल्याब ११८ एम्पुल, डाइजेपाम ४९१ एम्पुल, लुपिजेसिक ४९ एम्पुल फेला परेको महानगरीय प्रहरी वृत्तका प्रमुख कुमार विक्रम थापाले बताए ।
प्रहरी वृत्तका प्रमुख थापाका अनुसार वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना. ७ ख. ८४१४ नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा लागुऔषध चरेस ३ केजीसहित जिल्ला मकवानपुर थाहा नपा वा नं. ५ बस्ने २५ वर्षीय अष्टमान स्याङ्तानलाई पक्राउ गरिएको हो।
त्यस्तै चन्द्रागिरी न.पा वडा नं. २ बाडभन्ज्याङस्थित धादिङबाट काठमाडौंतर्फ हिँडेर आउँदै गरेका जिल्ला धादिङ थाक्रे गाउँपालिका वडा नं. ३ घर भएका ४२ वर्षीय विश्वराम पुरीलाई लागुऔषध गाँजा १ किलोसहित नियन्त्रणमा लिएको हो।
थानकोट प्रहरीका अनुसार उक्त गाँजा मगाउने चन्द्रागिरी न.पा १५ ढुंगेअड्डा बस्ने २४ वर्षीय श्यामहरि राउतलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
सेतोपाटी





