गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, गत मार्च महिनामा लण्डनमा आयोजित लन्डन कविता कन्सर्ट २ मा संकलित रकमबाट सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका ६ टेकानपुरस्थित कालिका माविमा निर्माण हुन गइरहेको अत्याधुनिक विद्युतीय पुस्तकालयसहितको २ कोठे भवनको शिलान्यास भएको छ ।
नायिका एवं जान्वी फाउन्डेशनकी अध्यक्ष समेत रहेकी जान्वी बोहोराद्वारा पुस्तकालय भवनको शिलान्यास गरिएको हो । नायिका जान्वीको नेतृत्वमा रहेको जान्वी फाउण्डेसनको आर्थिक तथा ब्यबस्थापकीय सहकार्यमा पुस्तकालय निर्माण गरिनेछ ।
कन्सर्टबाट संकलित १७ लाख रुपैयाँमध्ये पहिलो किस्ता नेपाल पठाइसकिएको र बाँकी रकम काम अघि बढेपछि पठाइने सिम्खडाले जनाए । लण्डन कविता कन्सर्ट २ को संयोजन गरेका एनआरएन अभियन्ता समेत रहेका रामशरण सिम्खडाले पुस्तकालय निर्माणको काम केहि महिनाभित्रमै पूरा गर्ने गरी सुरु भएको जानकारी दिए । क्षेत्री समाज बेलायतको आयोजनामा गरिएको उक्त कविता कन्सर्टमा युवा कवि नवराज पराजुलीले बेलायातवासीलाई आफ्ना आधा दर्जन कविता सुनाएका थिए । 
उनले ‘वामपन्थी लभ’ ‘रूख’, ‘बुबा’, ‘हयाप्पी बर्थ डे’, ‘प्रहरी’ जस्ता कवितामा भावुक हुने दर्शक अत्यधिक थिए । पुस्तकालय निर्माणको लागि महत्वपूर्ण सहयोग गर्ने लण्डन कविता कन्सर्टका संयोजक रामशरण सिम्खडा, क्षेत्री समाज यूके र समाजका अध्यक्ष राजन क्षेत्री र महासचिव कुमार केसीप्रति जान्वीले आभार प्रकट गरिन् ।





