काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न प्रलोभन देखाई युवतीहरुलाई विवाह गर्छु भनि विश्वासमा पारी रकम समेत लिई ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
कीर्तिपुर बस्दै आएका डोटी के आई सिंह गाउँपालिका ६ घर भएका २६ वर्षीय केशवराज भट्टलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
भट्टले विभिन्न उच्च पदका अधिकृतहरुको फोटो आफैले बनाएको फेसबुकको फेक अकाउन्टमा राख्नुका साथै आफू उच्च खानदानको व्यक्ति भई नेपाल सरकारको शाखा अधिकृत रहेको र विवाह गर्न चाहेको भनी विभिन्न प्रलोभन देखाई युवतीहरुलाई विवाह गर्छु भनि विश्वासमा पारी रकम समेत लिई ठगी तथा चरित्र हत्या गरी अलपत्र पारेको भन्ने उजुरी महानगरीय अपराध महाशाखा टेकुमा प्राप्त भएपश्चात सो महाशाखाबाट खटिएको प्रहरीले भट्टलाई काठमाडौं गौशालामा फेला पारी पक्राउ गरेको हो।
भट्टलाई विद्युतीय कारोवार ऐन अन्तर्गतको कसूरमा आवश्यक अनुसन्धान कारवाहीको लागि बुधबार महानगरीय प्रहरी परिसर, काठमाडौं लगिएको छ।
डिसी नेपाल





