काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले ढुक्क भएर नेपालमा लगानी गर्न फ्रान्सका उद्यमीहरुलाई आग्रह गरेका छन्।
अर्थमन्त्री खतिवडाले नेपालमा लगानी गरे आवश्यक सबै खालको सहयोग गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए। नेपाल र फ्रान्सका उद्यमीहरुबीचको सहकार्यसम्बन्धि कार्यक्रमलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै उनले नेपालको जलविद्युत र प्रविधिको क्षेत्रमा लगानी गरेर उच्च प्रतिफल लिन पनि फ्रान्सका उद्यमीहरुको ध्यानाकर्षण गराए।
अर्थमन्त्री खतिवडाले नेपाल लगानीका लागि दक्षिण एशीयाकै सबैभन्दा उपयुक्त मुलुक भएको पनि बताए। कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा लगानी गर्ने उपयुक्त समय आएको उल्लेख गर्दै त्यसको सदुपयोग गरेर अघि बढन फ्रान्सका उद्यमीहरुलाई आग्रह गरे।
कार्यक्रममा नेपाल भ्रमणमा आएको फ्रान्सेली कम्पनीका लगानीकर्ता, उद्यमी व्यवसायीहरूसँगको भेटवार्तामा नेपाली उद्यमी व्यवसायीहरूले सहकार्यका सम्भाव्य क्षेत्रहरू प्रस्तुत गरेका थिए।
त्यस अवसरमा फ्रान्सेली कम्पनीहरूका तर्फबाट जल तथा नविकरणीय उर्जा, सूचना तथा संचार प्रविधि, दीगो र स्मार्ट शहरीकरण, कृषि तथा खाद्य प्रशोधन, शहरी यातायात, फोहर व्यवस्थापन लगायतका क्षेत्रमा सहकार्यको सम्भाव्यता प्रस्तुत गरिएको थियो।
नेपाल लगानी सम्मेलनको लगत्तै नेपालस्थित फ्रान्सेली राजदूतावास र राजदूतको विशेष पहलमा महासंघद्वारा आयोजना गरिएको यो कार्यक्रमलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ। व्यवसायिक भेटवार्तामा छिमेकी भारत तथा फ्रान्समा लगानी गरिरहेका १५ वटा प्रतिष्ठित फ्रान्सेली कम्पनीका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो।
कार्यक्रममा नेपालका लागि फ्रान्सका राजदूत फ्रान्साँ जाभियर लेजेर, दिल्लीस्थित फ्रान्सेली राजदूतावासका क्षेत्रीय आर्थिक विभाग प्रमुख एवम् मिनिष्टर अफ काउन्सिलर जो मार्क फनेलगायतको पनि उपस्थिति रहेको थियो।
डिसी नेपाल





