गोर्खा अनलाइन रेडियो यूके,
लण्डन । युवा स्टार अनमोल केसीको पछिल्लो स्पोर्ट्स ड्रामा नेपाली चलचित्र क्याप्टेनको रेड कार्पेट शोका लागि नायक अनमोल केसी र भुवन केसी लन्डन आइपुगेका छन् । बिहीबार बिहान उनीहरुलाई स्वागत गर्न सपन इन्टरटेनमेंट्सका निर्देशक सपन कुमार राई तथा मंजु गुरुङ राई लगायतका व्यक्तिहरु लन्डनस्थित हिथ्रो विमानस्थालमा पुगेका थिए । लन्डनस्थित अल्डरशटको प्रिन्सेस हलमा यहि अप्रिल ६ तारिख शनिबारका दिन हुन गइरहेको रेड कार्पेट प्रिमियर शोका लागि नायक अनमोल केसी र भुवन केसी लन्डन आइपुगेका हुन् ।
शनिबार दिउसको ४ बजेबाट शुरु हुने रेडकार्पेटको लागि ३ बजेबाट दर्शकहरुको लागि प्रवेश द्वार खुल्ला राखिने सपन राईले जानकारी दिएका छन् । रेड कार्पेट शोमा अनमोल केसी र भुवन केसीसँग मीट एण्ड ग्रिट तथा फोटोसेसनको समेत कार्यक्रम रहेको छ । आफ्नो कार्यव्यस्तताका कारण आफू भने अप्रिल ६ को कार्यक्रममा मात्र उपस्थित हुन् सक्ने नायक अनमोल केसीले बताएका छन् । भुवन केसी भने बेलायतमा हुने अन्य शोहरुमा पनि रहनेछन । उक्त रेड कार्पेटमा १८ वर्ष भन्दा मुनिका लागि भने प्रवेश निशेध रहेको सपन राइले बताएका छन् ।
चलचित्र ‘क्याप्टेन’को रेडकार्पेटमा उपस्थित हुनको लागि बेलायतवासी समक्ष नायक अनमोल केसी तथा भुवन केसीले सम्पूर्ण बेलायातवासी समक्ष अनुरोध गरेका छन् । चलचित्रमा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, प्रियंका एम भी लगायतको अभिनय रहेको छ भने अनमोल केसीले उपासना सिहं ठकुरी र प्रियंका एमभी दुई नायिकासँग रोमान्स गरेका छन् । नेपालमा भर्खरै मात्र रिलिज गरिएको यस चलचित्रलाई सपन इन्टरटेनमेन्ट्स लिमिटेडले बेलायतमा प्रदर्शन गर्न लागेको हो । सपन इन्टरटेनमेन्ट्सले अन्य चलचित्रहरु “ड्रिम्स” “कृ” “लिलिबिली” “तिमीसंग” “म तिम्रै हुँ” जस्ता थुप्रै चलचित्रहरुको सफल प्रदर्शन गरिसकेको छ ।





