काठमाडौं । कमाण्डो तालिम गरेका सैनिक अधिकारीले आपसमा कुटाकुटै गरे भन्ने कुरा उति सुनिएको थिएन । तर, छाउनीस्थित सैनिक अस्पतालमा कमाण्डो तालिम नगरेका दुई डाक्टर जर्नेलबीच हानाहान चलेको छ ।
भन्न पनि लाजलाग्दो कि, एकतारे जर्नेल भइसकेका यी चिकित्सकको झगडाचाहिँ दुई–चार चोक्टा मासु धेरथोर भएको निहुँमा परेको रहेछ । झगडिया हुन्, डा.सुशील रावल र डा.उदय बज्राचार्य । नेपालकै नाम चलेका सर्जन मानिन्छन्, डा.रावल । डा.उदयचाहिँ बिरामीलाई बेहोस बनाउने विज्ञ हुन् । तर, सर्जन डा.सुशीलले दिउँसो एघारै बजे एनेस्थेसिस्ट डा.उदयको कोठामा छिरेर झण्डै बेहोस हुने गरी मुक्का हाने । वेटरहरुले प्लेटमा हालिदिएको थोरै चोक्टा मासुका कारण अपमानित महसूस गर्दै सुशील उदयमाथि जाइलागेको बताइएको छ । आफ्नो कोठामा काम गरेर बसिरहेका उदय त्यतिबेला छक्क परे, जब सुशील हाट्टहुट्ट गर्दै कोठामा छिरेर सीधै ब्वाङव्वाङ हिर्काउन थाले । उदय ‘के भयो, के भयो’ भन्दै थिए, सुशीलचाहिँ ‘साले, मलाई हेप्ने र? मलाई चिफले त केही गर्न सक्दैन , तैँले हेप्ने’ भन्दै झन् हिर्काउन थाले ।
कुटाई खाएका दिनदेखि डा.उदय अस्पताल गएका छैनन् । काम गर्दागर्दै अनाहकमा कुटिनु, त्यो पनि आफूभन्दा जुनियरबाट– योभन्दा घोर अन्याय अरु हुँदैन भन्ने दाबी छ उदयको । उनले सुशीलमाथि कारवाही नभएसम्म काममा नजाने भन्दै अड्डी लिएका छन् ।





