बारा, पर्सा विपत्ति अपडेटः उद्धारका लागि सेना परिचालन, मौसम खराबीका कारण हेलिकोप्टर परिचालन हुन सकेन
काठमाडौं । हावाहुरीले बारा र पर्सामा आइतबार व्यापक धनजनको क्षति गरेको छ । दुबै जिल्लामा गरेर २५ जनाको मृत्यु भएको भन्दै प्रधानमन्त्री केपी ओलीले ट्वीट गरेका छन् ।
उनले ट्वीटमा अन्य ४०० जना घाइते भएकोसमेत उल्लेख गरेका छन् । यो संख्या अँझै बढ्ने अनुमान प्रहरीले गरेको छ । मौसममा सुधार नभएकाले उद्धारमा कठिनाई भएको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री ओलीले अर्को ट्वीट गर्दै उद्धार गर्न विमानस्थलमा नाइटभिजन हेलिकोप्टर अलर्ट राखिएको बताएका छन् । उनले मौसममा सुधार भए तत्कालन उद्धारका लागि नाइटभिजन हेलिकोप्टर । जाने बताएका छन् । उनले उद्धारमा खटिन सिंगो पार्टी पँक्तिलाई पनि निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले नेपाली सेनाको दुई बटालियन उद्धारका लागि परिचालन गरिएको जानकारी दिएका छन् । उनले मौसममा भएको खराबीका कारण उद्धारकर्मीसहित नाइट भिजन हेलिकोप्टरले उडान भर्न नसकेको बताएका छन् ।
बारा र पर्साका सबै अस्पतालहरु घाइतेले भरिएका छन् । उपचारमा रगतको निकै कमी भएको जनाइएको छ । औषधिको भने समस्या नभएको बताइएको छ ।
ओलीको ट्वीटमा भनिएको छ, ‘हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाईते भएको जानकारीमा आएकोछ। मृत्युबरण गर्नेहरूप्रति शोकव्यक्त गर्दछु। र, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’
बारा र पर्सा प्रहरीले भने ७ जनाको शव फेला परेको पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका एसपी सानुकुमार भट्टराईले बाराको कैलया अस्पतालमा ४ जनाको शव राखिएको बताए । उनले क्षतिको पूर्ण विवरण आइन नसकेको भन्दै मृतकको संख्या पनि बढ्ने सक्ने डिसीनेपाललाई बताए । बाराको दक्षिणी क्षेत्र फेटा पुरैना गाउँपाकिलामा हावाहुरीले व्यापाक क्षति पुर्याएको छ ।
एसपी भट्टराईले घाइतेहरु र मृतकहरुको शव संकलनमा प्रहरी सक्रिय भएको जानकारी दिए । उनले प्रहरी राहत तथा उद्धारमा खटिएको जानकारी दिए ।
उता जिल्ला प्रहरीका कार्यालय पर्साका रेवती ढकालले पर्सामा हालसम्म ३ वटा शव फेला परेको बताए । उनले सयौं घाइते भएको बताए ।
घाइतेहरुको वीरगञ्जस्थित विभिन्न अस्पतालहरुमा उपचार भइरहेको बताए । उनले वीरगञ्जका प्रयाः अस्पतालहरुमा घाइतेहरुको उपचार भइरहेको बताए ।
हावाहुरीले विद्युतका पोल ढेलेका छन् भने पर्खालहरु पनि भत्केका छन् । यस्तै घरका छानासमेत भत्केका छन् । यी ढलेका पोल र पर्खालमा च्यापिएर मानवीय क्षति भएको प्रहरीले जनाएको छ ।
डिसी नेपाल





