बिद्युत अभावमा ढोरपाटन नगरपालिका–५ चौरमा सोलार प्यानल जडान गरेर खानेपानी तानेर खुवाइएको छ । नजिकमा पानीको मुहान नभएपछि स्थानीयले सास्ती खेपेका थिए । सोलारको बिद्युतले खोल्साको पानी तानेर सुख्खा गाउँमा खुवाइएको हो । दैनिक पानी खेप्दा घरको काम नभ्याउने, बालबालिका लाई समयमा बिद्यालय पठाउन नसक्ने समस भएको चौरबासी पानी पाउँदा खुसी भएका छन् ।
‘पानीकै समस्याले हामीले सास्ती खेपेका थियौं, अहिले राम्रो भयो’ स्थानीय चुडामणी पौडेलले भने, ‘अब समय पनि बचत हुने भयो ।’ गाग्री बोकेर खोला धाउने समस्या हटेको उनलेब बताए । नजिकमा पानीको श्रोत नभएपछि खोल्साखाल्सी पुगेर डोकोमा गाग्री राखेर गाउँलेले पानी खेप्दा हैरानी खेपेका थिए । अहिले घरघरमै पानीका धारा जडान गरिएको छ । यहाँका ४० घरमा पानीको धारा जडान गरिएको हो । ठूलो पधेंराबाट सौर्य विद्युत मार्फत बनाइएको लिफ्ट खानेपानी आयोजनाले उनको समस्या समाधान भएको हो ।
चौर खानेपानी तथा सरसफाई परियोजनामार्फत ३ वटा ट्यांकी बनाएर ३ सय ७२ मीटरको उचाईमा पानी पठाएपछि चौरका ४० वटा घरघरमा धारा बनेको हो । मिटर जडान गरेर उनीहरुले मासिक शुल्क तिर्ने गरी धारा बनाइएको उपभोक्ता समितिका अध्यक्ष घनश्याम गिरीले बताए । मुलको पानी पाईपलाईनबाट ल्याउन करोड खर्च गर्दा पनि संभव नभएपछि लिप्फ्ट प्रविधिमा गएको उनले बताए । लिफ्ट पानी तान्दा बिद्युतको आवस्यकता परेकोले ३ सय २५ वाटका १८ वटा सोलार प्यानल जडान गरेपछि उत्पादित ५ हजार ८ सय ५सय ५० वाट क्षमताको सौर्य उर्जाले पानी तानिएको हो । २० हजार लिटर क्षमताको ट्यांकीमा पानी जम्मा गरेर गाउँमा वितरण गरिएको हो । चौरमा २१ घर दलीत परिवार छन्भने १९ घर बाहुनक्षेत्री र जनजाती छन् ।
दैनिक मेलापात, ज्यालामदजुरी गर्नेले पानीकै अभावमा खोल्सामा गोठ राखेर पशुपालन गर्न बाध्य थिए । खानेपानी अभावले बसाई सराई पनि थियो । ‘हामीले त पानीकै कारण मर्नुपर्ने अवस्था थियो, अहिले राम्रो भयो’ स्थानीय शिरीलाल बिकले भने, ‘अब समयमा छोराछोरी पढ्न पठाउन सकिने भयो ।’ आफ्नो घरको र छिमेकीको पानी खेपाउन पठाउनु पर्दा केही बालबालिका बिद्यालय नगएको उनले बताए ।
पानीको व्यवस्थाले सबै घरमा शौचालय प्रयोगमा ल्याउने र सरसफाईमा नमूना बनाउने योजना पनि स्थानीयले अगाडि सारेका छन् । यस अघि पानीकै अभावमा धेरै शौचालय प्रयोग विहिन थिए । नेपाल स्वास्थ्यका लागि पानी (नेवा)ले लिफ्ट बिधिको पानी निर्माण गरिदिएको हो । २० लाख ४९ हजार लगानी गरेको यो आयोजनामा स्थानीयले २ लाख नगद र श्रमदान गरेका थिए । ढोरपाटन नगरपालिकाले २ लाख ५० हजार रकम थप गरेपछि २५ लाखमा यो आयोजना सम्पन्न भएको नेवाका गण्डकी प्रदेश प्रवन्धक कुमार सिलवालले बताए । ‘जिल्लामा हामीले लिफ्ट र अन्य गरी ३० वटा आयोजना संचालन गरेका छौं’ सिलवालले भने, ‘पानीकै कारण बसाई सर्ने बाध्यता, बालबालिका बिद्यालय जाने समस्या जस्ता कम गर्न खोजेका छौं ।’ पानी आएपछि हरेक घरले कृषि फसल फलाएर व्यवसायिक बन्नुपर्ने प्रस्ताव समेत राखेर आयोजना बनाइएको उनले बताए । कृषि फसल उत्पादन गर्दा रोजगारी र आम्दानी बढ्ने गरी उपभोक्तालाई जागरुक गराइएको उनले बताए ।
चौर बुर्तिवाङ बजारदेखि पैदल २ घण्टाको उकालो चढेपछि मात्र पुग्न सकिन्छ । यहाँ पानीकै अभावले मस्ती, अर्नाकोट, प्याङखखोला लगायतमा खानेपानीको चरम संकट छ । श्रोत भएका स्थानको खोजी गरेर मुहानबाट ल्याउने र लिफ्टको खोजी गरी सबै गाउँमा योजना पु¥याउन पहल भैरहेको स्थानीयले बताए ।
जनमञ्च





