गोर्खा अलाइन रेडियो यूके,
कार्यक्रमको फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।
लन्डन, क्षेत्री सामाज बेलायतको आयोजनामा गत आइतबार गरिएको एक च्यारिटी नाइट ‘लन्डन कविता कन्सर्ट’ बाट करिब १७ लाख रुपैयाँ बराबरको रकम संकलन भएको छ । लन्डन कविता कन्सर्ट सीजन -२ का लागि यूवा कवि नवराज पराजुली लन्डन आएका हुन् । कार्यक्रमबाट संकलित रकम भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक जिल्लाको टेकनपुरस्थित कालिका मा.वि. मा २ कोठे भवनसहितको ई– पुस्तकालय स्थापना गरिने भएको छ । लण्डनको ह्यारो फुटबल क्लबमा आयोजित सो कविता कन्सर्टमा कवि नवराज पराजुली लगायत स्थानीय स्रस्टाहरु नृपेश उप्रेती, फडिन्द्र भट्टराई, रमेश कायस्थ र रेखा खरेलले आ-आफ्ना कविता र गजल प्रस्तुत गरेर दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए ।
कविता कन्सर्टमा सहभागीता जनाउनका लागि स्थानीय समाजसेवी, बुद्धीजीवी, व्यवसायी, पत्रकार लगायत सम्पूर्ण बेलायतवासीहरु उत्साहित हुँदै निकै टाढा टाढाबाट आएका थिए । समाजका सल्लाहकार एवं कार्यक्रम संयोजक रामशरण सिम्खडाद्वारा संचालित उक्त कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी (दुवसु क्षेत्री) को प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी डा. सुवेदीले कवितात्मक शैलीमा कवि नवराज परजुलीको प्रशंसासहितको एकदमै छोटो र मिठो मन्तव्य प्रस्तुत गरेका थिए । कार्यक्रमको आरम्भमा स्थानीय स्रष्टाहरुद्वारा गरिएका प्रस्तुतीहरुले माया प्रेम, देश प्रेम लगायत राजनीतिलाई समेत व्यंग्यात्मक रुपमा प्रस्तुत गरिएको थियो ।
अन्तमा सुमधुर सांगीतिक धुनका साथमा कवि नवराज पराजुलीले करिब डेढ घण्टासम्म आफ्ना कविताहरुद्वारा दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए । कवि पराजुलीले वामपन्थी लभ, हेप्पी बर्थडे, प्रहरी, बुवा, रुख जस्ता कविताहरु प्रस्तुत गरेका थिए । जवानीमा श्रीमतीलाई गुमाउदाको पीडा बोकेर छोराछोरीप्रतिको मायामा अल्झेर एक्लो जीवन बिताएका वृद्धको दर्दनात्मक भावनाले भरिएको कविता रुखले सबैलाई भावुक बनाएको थियो । तेस्तैगरी आफ्ना बुबाप्रति समर्पित कविता ‘बुवा’ र राष्ट्रसेवक प्रहरीको जीवानिसंग सम्बन्धित कविता ‘प्रहरी’ लाई प्रस्तुत गरिरहँदा सबैजना भावविह्वल भएका थिए । खासै कविता गजल सुन्ने रहर अनि बानी नपरेका बेलायातवासीहरुलाई यस कविता कन्सर्टले कता कता आकर्षण गरे जस्तो देखिन्थ्यो ।
कविता बाचनका क्रममा पटक पटक तालीको गुन्जायमान सुन्न सकिन्थ्यो । हुन त ठिक एक वर्ष अघि पनि कवि नवराज पराजुलीकै आगमनमा पहिलो कविता कन्सर्ट पनि भव्य रुपमा सफल भएको थियो । कविता कन्सर्टलाई सामान्य रुपमा हेरिने भएपनि नाट्यकर्मी सनम कुमार बैरागको स्टेज सजावट व्यबस्थापन र डीजे हेम बिष्टको लाइटिंग व्य्बस्थापन प्रतिको मिहिनेत त परिश्रमले गर्दा कविता कन्सर्ट पनि त्यत्ति सहज नहुने भान सबैलाई परेको थियो । हिमालयन ग्रुप ट्रेडिंग लिमिटेडद्वारा गरिएको हल सजाव्तले झन् आकर्षण थपेको थियो ।
 आयोजकका तर्फबाट संस्थाकी उपाध्यक्ष एवं स्रष्टा प्रतिमा के.सी.ले कवितात्मक शैलीमा स्वागत मन्तव्य राखेकी थिइन् भने आयोजक क्षत्री समाज बेलायतका अध्यक्ष राजन कुमार क्षेत्रीले कार्यक्रम समापन गर्दै सहयोगीहरुप्रति आभार प्रकट गरे । आसन र भाषण निषेधित यस कार्यक्रममा दर्शकहरुले छुट्टै अनुभव बटुल्ने अवसर पाएका थिए । ठिक एक वर्ष अघि कवि नवराज पराजुलीकै समुपस्थितिमा कविता कन्सर्टको आयोजनाका संयोजक रामशरण सिम्खडाकै संयोजकत्वमा यस पटकको कविता कन्सर्टको पनि आयोजना गरिएको हो ।
कार्यक्रमलाई सफल पार्न र आयोजकद्वारा प्रस्तावित सिन्धुपाल्चोक जिल्लाको टेकनपुरस्थित कालिका मा.वि. मा २ कोठे भवनसहितको ई– पुस्तकालय स्थापना गर्ने सपना साकार पार्नको लागि सहयोगी मन लगायत उपस्थित सबैप्रतिसंयोजक सिम्खडाले आभार प्रकट गरेका थिए ।





