बागलुङ – सामान्यतया आफ्नो वडा भित्रका संरचना वडा कार्यालय र स्थानीय तहको हुने व्यवस्था छ । स्थानीय तहलाई बिद्यालयको जिम्मा पनि छ । तर चार बर्षअघि नजिकको बिदालयमा गाभिएका बागलुङका आधा दर्जन बिद्यालयका संरचना जीर्ण बन्दै गएका छन् । ती भवनको जिम्मा कसैले पनि नलिएपछि जीर्ण बनेका हुन् । यसरी बिद्यालय गाभिंदा दुई चार जना मात्र बिद्यालर्थी पढाएर बस्नुपर्ने बाध्यता हटेको थियो । नजिकको ठूलो बिद्यालयमा गाभिंदा शिक्षक अभाव पनि कम भएको थियो । त्यतिबेला जिल्लाका ६ वटा बिद्यालय ‘मर्ज’ भएका थिए । त्यसपछि यहाँका संरचनाहरु जीर्ण बन्दै गएका छन् । यसरी जीर्ण बन्नेमा नारायणस्थानको शारदा प्रावि, पैयुपाटाको कृष्ण प्रावि, सरस्वती प्रावि, नारायणस्थानको शिव प्रावि, मल्मको बरेखानी प्रावि र बानपाको सरस्वती प्रावि थिए । शारदा प्रावि नजिकैको गणेश माविमा गाभियो । बिद्यार्थी संख्या न्युन र शिक्षक दरबन्दीको भार थेग्न नसकेपछि दरबन्दी नभएको बिद्यालयमा गाभिएको थियो । तत्कालिन जिल्ला शिक्षा कार्यालयले कृष्ण प्रावि र सरस्वती प्राविलाई त्रिभूवन माविमा गाँभेको थियो ।
नारायणस्थानकै शिव प्राविलाई जनताधन माविमा गाभेको थियो । यसरी गाभिनेमा मल्मको बरेखानी प्राविलाइ भैरव मावि र बागलुङ नगरपालिका ७ सिम्लेको सरस्वती प्राविलाई बसुन्धरा प्राविमा गाभिएको थियो । ती बिद्यालय गाभिएपछि यहाँका सबै भवनहरु जीर्ण र भग्नावशेषको रुपमा परिणत भएका हुन् । अभिभावकले लाखौं र सरकारी बजेट मसेत लगानी भएका यी भवनहरु अहिले भग्नाबशेष जस्तै बनेका छन् । संरक्षण गरिदिने कोही नभएको र स्वामित्व लिइदिने कोही नहुँदा ती भवन जीर्ण बनेका हुन् । बिद्यालयको आसपासमा झार र रुख उम्रेका छन् । कुनैबेला बालबालिका खेलेर रमणीय देखिने यी बिद्यालय उजाड देखिन थालेका छन् । शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख कुश्मराज उपाध्यायले ती भवन बालबिकास केन्द्र संचालनका लागि छाडिएको बताए । ‘अब संरक्षण र उपयोग बालबिकास व्यवस्थापन समितिले गर्नेहो’ उपाध्यायले भने, ‘करोडौं खर्च भैसकेकोले ती संरचना सुरक्षित राख्न अब स्थानीय तह पनि लाग्नुपर्छ ।’ गत बर्षदेखि स्थानीय तहले शिक्षक सरुवा, बढुवा र नियुक्तीको काम थालिसकेकोले भवन सुरक्षाको काम पनि हुनुपर्ने उनले बताए । लागत व्यवस्थापन नभएकोले जिल्लाको शैक्षिक र भौतिक सुधारमा भएका काम स्पष्ट बुझ्न नपाएको उनले गुनासो गरे । मर्ज भएका अधिकांस भवन भत्कन लागेका छन् । एकदुई वटाका एकएक कोठा बालबिकासको रुपमा चलेका छन् ।
जिल्लामा अहिले ५ सय २५ वटा बिद्यालय संचालनमा छन् । बागलुङ नगरपालिकाले चालु बर्षभित्रै अन्य ४ वटा बिद्यालय मर्ज गर्ने तयारी समेत गरेको छ । बिद्यार्थी संख्या कम भएपछि शिक्षक तलब भार व्यहोर्न नसक्दा बढी बिद्यार्थी भएका, निजी श्रोतका शिक्षक राख्न बाध्य बिद्यालयमा पठाउने तयारी भएको नगर शिक्षा अधिकारी ठाकुरजी तिवारीले बताए । अन्य तहले पनि अध्ययन गरेर एकदुई वटाका दरले मर्जको तयारी गरिरहेका छन् । त्यसरी मर्ज भैसकेपछि भौतिक संरचनाको सुरक्षामा भने चासो कम भएको हो । ‘शिक्षा ऐन नियमाबलीहरु बन्ने क्रममै भएकोले व्यवस्थापनबारे स्पष्ट खाका आएपछि सजिलो होला’ उपाध्यायले भने, ‘सम्पत्ति संरक्षणमा अभिभावकहरु जुट्नुपर्छ ।’ शिक्षक दरबन्दी पुनराबलोकन समितिले प्रतिवेदन दिने क्रम रहेकोले त्यसपछि कतिपय संरचना व्यवस्थापनको समेत कुरा आउने उनले बताए । सरकारले गत बर्ष पूर्व सचिव महाश्रम शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो । पहिलो पटक संघिय सरकारले शिक्षक मिलान गरेपछि स्थानीय तहमा जिम्मा लगाउने तयारी गरेको छ । समयमा निर्णय नभए गाँभिएका र गाँभिने तयारीका सबै बिद्यालयका संरचना जीर्ण हुने उनले बताए । ती भवन जीर्ण भएमा राज्यलाई करोडौं घाटा हुनेछ ।
ढोरपाटन दैनिक





