काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ। श्वासप्रश्वास सम्बन्धी रोग सँग लामो समयदेखि जुधिरहेका अधिकारीको शनिवार धुम्बाराहि स्थित हया्म्स अस्पतालमा निधन भएको हो।
तीन सातादेखि राजधानीको ह्याम्स अस्पतालमा उपचार गराइरहेका अधिकारीको स्वास्थ्य अवस्था पछिल्लो २४ घण्टादेखि खस्कँदो रहेको आज दिउसो उपचारमा संलग्न चिकित्सकले पत्रकार सम्मेलन गरेर जानकारी गराएका थिए।
कम्युनिस्ट नेता अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति ९ बजेर ३५ मिनेटमा ह्याम्स अस्पतालमा निधन भएको हो।
को हुन अधिकारी ?
अधिकारीे वि सं १९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमरपुरामा बुवा रामचन्द्र र आमा पूर्णकुमारीको कोखबाट जन्मिएका थिए। उनका श्रीमती ओमकुमारी र तीन छोरी छन्।
कानुन र अर्थराजनीतिका विज्ञ अधिकारीले अर्थशास्त्रमा एमए र कानुनमा बीएलसम्मको औपचारिक अध्ययन गरेका थिए। महोत्तरीमा जन्मिएर विराटनगरलाई कार्यक्षेत्र बनाएका अधिकारी पछिल्लो समय राजधानीमा बस्दै आएका थिए।
अधिकारी पञ्चायत अवधिका चर्चित कानुन व्यवसायीसमेत हुन्। वि सं २०१७ सालमा पीएचडी गर्ने विचार गरेका अधिकारी तत्कालीन सोभियत सरकारले दिएको छात्रवृत्ति छोडेर राजा महेन्द्रको ‘कु’ विरुद्ध सघर्षमा होमिएका थिए।
नेपालको राजनीतिमा त्यागी नेताको रुपमा चिनिने अधिकारीले चार वर्ष भूमिगत, तीन वर्ष निर्वासन र तीन वर्ष बन्दी जीवन बिताएका थिए । वि सं २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले ‘कु’ गर्दा उनी ८१ दिन नजरबन्दमा थिए।
अध्ययनशील मानिने नेता अधिकारीले नेपालमा अद्योगीकरणका समस्या, मेरो जीवनयात्रालगायत कृति प्रकाशित गरेका छन्। जीवन यात्राको नयाँँ भाग पुस्तक भने प्रकाशन नहुँदै अधिकारी सदाका लागि बिदा भएका छन्।





