पोखरा – तोकिएभन्दा धेरै पैसा लिएको भन्दै गण्डकी मेडिकल कलेजका विद्यार्थीले गण्डकी शिक्षण अस्पतालमा लगाएको ताला कास्की प्रशासनले सोमबार तोडेको छ । अस्पतालजस्तो संवेदनशील सेवा बन्द गर्न नमिल्ने भन्दै ताला खोलिएको कास्कीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) चक्रबहादुर बुढाले बताए । सन् २०१५ पछिका ब्याचका विद्यार्थीले कलेजमा पनि ताला लगाएका छन् । त्यो ताला भने अझै खुलेको छैन । लिइएको बढी पैसा फिर्ता नलिएसम्म आन्दोलन नछाड्ने अडानका साथ विद्यार्थीले आइतबारबाट भएको एसबीबीएस तेस्रो वर्षको परीक्षा पनि दिएनन् । ८६ जना विद्यार्थीले परीक्षा फारामै बहिस्कार गरेका थिए । विद्यार्थीले २ देखि ७ लाख रुपैयाँ बढी पैसा आफूहरुसँग कलेजले असुलेको बताएका छन् ।
गएको माघ दोस्रो सातादेखि आन्दोलनरत विद्यार्थी अस्पताल परिसरमै रिले अनसनमा छन् । विद्यार्थी परिवर्तन भाटका अनुसार सोमबार अस्पतालको ताला खुलाउन आएको प्रहरीसँग धकेलाधकेल भएको थियो । त्यसक्रममा २० जनाभन्दा बढी विद्यार्थीलाई चोट लागेको र छात्राहरुमाथि पुरष प्रहरीले बुट बजारेको भाटले अन्नपूर्णसित दुखेसो पोखे । सीडीओ बुढाका अनुसार गण्डकी मेडिकल कलेजका विद्यार्थीको आन्दोलनमा त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण भइसकेको छ । उनले कलेजका अध्यक्ष खुमा अर्याललाई समेत डाकेर विद्यार्थीसँग वार्ता गराएको पनि सुनाए । ‘विद्यार्थीले हातहातै पैसा फिर्ता चाहियो भनेका छन्’, उनले भने, ‘छानबिन समिति आएको छ । अनुगमन समिति आएको छ । त्यसले पत्ता लगाएको तथ्यका आधारमा पैसा फिर्ता हुन्छ भन्दा विद्यार्थीले मानेका छैनन् ।’
विद्यार्थीले भने त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानबाट आउने छानबिन समितिलाई नै कलेज व्यवस्थापनले हात लिइसकेको आरोप लगाएका छन् । उनीहरु भन्छन्, ‘अनुगमन समितिको टिम आउँछ र कलेजका मान्छे उनीहरुलाई लिन गाडी लिएर एयरपोर्ट पुग्छन् ।’ त्रिभुवन विश्वविद्यालयले डा. ओमप्रसाद बराल संयोजकको ३ सदस्यीय छानबिन समिति बनाएर कलेज पठाएको थियो । त्यसमा बाबुराम दाहाल र डा. पुष्करसिंह रैखोला सदस्य छन् । परीक्षा बोर्डले तोकेको समयभित्र फर्म भर्न नपाएका विद्यार्थी हेरी म्याद पनि थपेको थियो । तर विद्यार्थीले भने सरकारले तोकेभन्दा बढी लिइएको पैसा जसरी पनि फिर्ता लिनुपर्ने मागमा अड्डी कसेका छन् । मेडिकल काउन्सिलका कार्यकारी सदस्य डा. विश्व दवाडी, डा. सुनील शाह र डा. कालुसिंह खत्रीले पनि कलेज अनुगमन गरेका छन् ।
ढोरपाटन दैनिक
प्रशासनले तोड्यो गण्डकी शिक्षण अस्पतालमा लगाएको ताला
प्रशासनले तोड्यो गण्डकी शिक्षण अस्पतालमा लगाएको ताला
तपाईको प्रतिक्रिया





