गोर्खा अनलाइन रेडियो यूके,
न्यूयोर्क,(एजेन्सी)
फुटबललाई विश्वकै चर्चित खेलको रुपमा मान्ने गरिन्छ । विश्वचर्चित अमेरिकी म्यागाजिन फोब्र्सले सन् २०१८ मा फुटबल खेलबाट सर्वाधिक आम्दानी गर्ने १ सय जना खेलाडीहरुको सूची सार्वजनिक गरेको थियो । जसमध्ये सर्वाधिक आम्दानी गर्ने ५ फुटबल खेलाडीको चर्चा गरिएको थियो । फोब्र्सका अनुसार अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी लुइस लिओनेल आन्द्रेस “लियो“ मेसी सर्वाधिक आम्दानी गर्ने खेलाडीको पहिलो स्थानमा सूचीकृत बन्न सफल भएका छन् ।
उनले वर्ष २०१८ मा १ सय ११ मिलियन अमेरिकी डलर आम्दानी गरेको फोब्र्सले जनाएको छ । जसमध्ये उनले तलबबाट ८४ मिलियन डलर र इन्डोर्समेन्टबाट २७ मिलियन डलर आम्दानी गरेका छन् । मेसी सन् २०१२ मा वर्षको सर्वाधिक गोलकर्ता बनेका थिए । यस्तै सन् २०१६ मा उनले पाँचौ पटक बालोन डे ओर अवार्ड जित्न सफल भए । सन् २०१७ को नोभेम्बरमा उनले आफ्नो क्लब बार्सिलोनासँग सन् २०२०/२१ सिजनसम्मका लागि सम्झौता अवधि थपिएको थियो ।
जसअनुसार उनले तलब र बोनस गरी वार्षिक ८० मिलियन पाउदै आएका छन् । इन्डोर्समेन्टको कुरा गर्नुपर्दा एडिडाससँग उनको आजीवन सम्झौता रहेको छ । यस्तै अन्य प्रमुख इन्डोर्समेन्टमा गातोरेड, पेप्सी र हुआवेई रहेका छन् । उनी चीनमा यति चर्चित छन् कि नान्जियांगमा एउटा पार्क नै उनको नाममा निर्माणाधिन रहेको छ जसलाई सन् २०२० सम्ममा निर्माण सम्पन्न हुने भनिएको छ । उक्त पार्कलाई मेसी थीम पार्क नामाकरण गरिएको छ ।
क्रिस्टियानो रोनाल्डो – फोब्र्सद्वारा जारी गरिएको उक्त सूचीमा पोर्चुगलका विश्वचर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले दोस्रो स्थान ओगटेको छ । सन् २०१८ मा रियल मेड्रिडबाट युभेन्ट्स पुगेका उनले ६१ मिलियन डलर तलबबाट र ४७ मिलियन डलर इन्डोर्समेन्टबाट आम्दानी गरेको जनाइएको छ । जसअनुसार वर्ष २०१८ मा उनले १ सय ८ मिलियन अमेरिकी डलर आम्दानी गरेका छन् ।
नेयमार जुनिएर – नेयमार डा सिल्भा सन्तोस जुनियर पूरा नाम भएपनि विश्व उनलाई पहिलो नामबाट नै बढी उच्चारण गर्न मन पराउँछन् । फोब्र्सका अनुसार उनी वर्ष २०१८ को सर्वाधिक आम्दानी गर्ने फुटबलर सूचीको तेस्रो स्थानमा रहेको छ । सन् २०१८ मा उनको कुल आम्दानी ९० मिलियन डलर रहेको छ । जसमध्ये ७३ मिलियन तलब र १७ मिलियन डलर इन्डोर्समेन्टमार्फत् आर्जन गरेका छन् ।
गेरेथ बेल – सन् २०१८ मा ३४.६ मिलियन आम्दानी गरेका रियल मेड्रिडका वेल्स स्टार गेरेथ बेल फोब्र्सले जारी गरेको उक्त सूचीको चौथो स्थानमा अटाएका छन् । जसमध्ये २८.६ मिलियन डलर तलब तथा ६ मिलियन इन्डोर्समेन्टबाट आम्दानी गरेका छन् ।
पाउल पोग्बा – सन् २०१८ मा कुल २९.५ मिलियन अमेरिकी डलर आम्दानी गरेका पाउल पोग्बा फोब्र्सले जारी गरेको उक्त सूचीको पाँचौ स्थानमा रहेको छ । जसमध्ये २५ मिलियन तलब र ४.५ मिलियन डलर इन्डोर्समेन्टबाट आर्जन गरेका छन् ।





